सम्पादकीय
नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या नै भन्ने र गर्ने काममा फरक हुनु हो । नेताहरुले एकथोक भन्छन् र अर्कोथोक गर्छन् भन्ने मान्यता स्थापित छन् । आफ्नो प्रतिबद्धता पुरा नगरेको र भाषणबाजीमा मात्र रमाएको भन्दै नेतृत्वको आलोचना हुने गरेको छ । अर्कोतिर इमान, नैतिकता र अनुशासनको ढोल पिट्नेहरु आफैंमा बेइमान र भ्रष्ट देखिएको प्रसस्तै उदाहरण छन् । त्यसैले पनि राजनीतिक नेतृत्वप्रति आक्रोश र वितृष्णको पारो पछिल्ला दिनमा बढेको छ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पनि त्यसका पछिल्ला उदाहरण नै बनेको तथ्यहरुले देखाएको छ । कोइरालाले पछिल्ला दिनमा राजनीतिक संरक्षणमा भ्रष्टाचार बढेको भाषण हरेक मञ्चबाट गर्ने गरेका छन् । मुलुकमा भ्रष्टाचार मौलाएको र राजनीतिक संरक्षणबिना भ्रष्टाचार हुनै नसक्ने भन्दै भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिन्छन् । कोइरालाको यो भनाइ नेपालको अहिलेको यथार्थ नै हो भन्दा फरक पर्दैन । तर, उनी आफैं कति चोखा छन् भन्ने प्रश्न छ ।
राजनीतिक शक्तिको प्रभावमा सरकारी बजेट विनियोजन गर्ने र दुरुपयोग गर्ने कार्यलाई स्वयं डा.कोइरालाकै संरक्षण रहेको देखिन्छ । पहुँचको आधारमा बजेट दुरुपयोग भ्रष्टाचारकै नमुना हो । त्यसमा स्वयम् कोइराला जोडिएका देखिन्छन् । विराटनर महानगरपालिका र कोशी प्रदेश सरकारले केही वर्षयता नेपाली काँग्रेससम्बद्ध केही संघ संस्थाहरुको नाममा नियमित बजेट विनियोजन गर्दै आएको देखिन्छ । ती संस्थाहरुले सार्वजनिक रुपमा महानगर, प्रदेश र नागरिकको लागि कुनै उदाहरणीय नमुना काम गरेका छैनन् । तर, कोइराला जोडिएका ती योजनामा करोडौं बजेट राज्यकोषबाट खर्च भइरहेको छ । विराटनगर ४ मा रहेको नोना कोइराला स्मृति प्रतिष्ठान र विराटनगर ६ मा रहेको नोना कोइराला स्मृति सामुदायिक भवनको नाममा मात्र पछिल्लो पाँच वर्षमा विभिन्न तहका सरकारबाट ५ करोड रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ ।
डा.कोइरालाकी आमा हुन् नोनाको नाममा स्थापना भएको प्रतिष्ठानमा कोइराला आफैं संरक्षक छन् । प्रतिष्ठान उनकै निर्वाचन क्षेत्रमा छ । तर, त्यसमा करोडौं बजेट राज्यले लगानी गर्नुको उपादेयता पुष्टि हुने आधार देखिदैन । प्रतिष्ठानको भवन जापान सरकारको १ करोड २१ लाख रुपैयाँ सहयोगमा बनाईदिएको थियो । त्यसयता भवन निर्माणकै लागि करोडो बजेट सरकारी निकायबाट बिनियोजन भएको छ । तर, न भवन निर्माण पुरा भएको छ, न त्यो भवनको आवश्यकता र औचित्य देखिएको छ । अहिले बनेकै एक तल्ले भवन पूर्णतः उपयोगविहीन रहेको बेला थप तलाको निर्माण गर्नुपर्ने आवश्यकता प्रतिष्ठानले सार्वजनिक गर्न सकेको छैन । तर, बजेट भने लगिरहेकै छ । अझ रमाइलो त प्रतिष्ठान भवनकै पछाडि पत्रकारिता अध्यापनका लागि बनाइएको तीन कोठे कलेजको कोठामा लागेको ताल्चा वर्षैंदेखि खुलेको छैन । पत्रकारिता कलेज स्थापना गरेर केहि वर्ष चलाएको प्रतिष्ठानले त्यसलाई निरन्तरता दिन नसक्दा कलेज बन्द भएको एक दशक भइसकेको छ ।
विराटनगर र आसपासमा कोइराला परिवारसँग जोडिएर नेपाली काँग्रेसको राजनीतिक प्रभावमा हुने बजेट दुरुपयोगको श्रृंखला लामै छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन, सुशिल कोइराला फाउन्डेसन, कृष्णप्रसाद कोइराला सामुदायिक भवन, विपि कोइराला सेवा केन्द्र सामुदायिक भवन, सुशिल–विशेश्वर स्मृति भवन र विपि कोइराला सामुदायिक भवनको नाममा पछिल्लो पाँच वर्षमा विराटनगर महानगरपालिका र प्रदेश सरकारले करिब १० करोड रुपैयाँ खर्च गरिसकेका छन् । नजिकैको बाटो धुलाम्ये र हिलाम्मे छ, आसपासका बासिन्दाले राम्रोसँग खानेपानी सुविधा पाएका छैनन् । तर, खेतको बिचमा भवन बनिरहेका छन् । त्यसको उपयोगिता र आवश्कता पुष्टि हुन हुन सकेको छैन । त्यसको यो सरकारी बजेटमाथिको दोहन र दुरुपयोगकै चरम नमुना हो । डा. कोइरालाले भन्ने गरेको राजनीतिक भ्रष्टाचारकै नमुना हो, यो पनि । यसबारे जवाफ दिन पर्दैन डा. साव ?