‘लकडाउन’मा झण्डै ३ हजार सवारी नियन्त्रण

विराटनगर । लकडाउन जारी भएको आज ३७ औं दिनसम्म आईपुग्दा जिल्ला प्रहरी कार्यालय मोरङ्गले कुल २ हजार ८ सय ७१ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

मोरङ्ग प्रहरीले गत चैत्र १२ गतेदेखि बैशाख १५ गतेसम्मको अवद्यिमा २ हजार ८ सय १० र हिजो बैशाख १६ गते मात्रै ६१ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । लकडाउन अवधिमा लकडाउन उल्लङघन गर्ने ८९ वटा अटो तथा टेम्पो, ६५ वटा टिपर तथा ट्रयाक्टर, २९ वटा कार तथा जीप, १ हजार ८ सय ४५ वटा मोटरसाईकल तथा स्कुटर र ८ सय ४३ वटा साईकल नियण्त्रणमा लिईएको मोरङ्ग प्रहरीको तथ्याङकले देखाएको छ ।

नियन्त्रणमा लिईएका २ हजार ८ सय ७१ वटा सवारीसाधनहरु मध्ये २ हजार ७ सय ९२ वटा सवारीसाधनलाई आवश्यक चेतावनी दिई छोडिएको र ७९ वटा सवारीसाधन छोडन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डि.एस.पी मानबहादुर राईले बताउनुभयो ।

प्रहरी प्रशासनले कडाई गरेपछि लकडाउन उल्लङघन गर्नेको संख्या पनि ओरालो लाग्दै गएको जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रमुख राकेश पोद्धारले बताउनुभयो ।

त्यस्तै मोरङ्ग प्रहरीले कोरोना भाईरसको सम्भावित जोखिम न्युनीकरण गर्न जारी लकडाउनको उल्लङघन गर्ने सवारीसाधनका साथसाथै १ हजार ५ सय २३ जना सर्वसाधारणहरुलाई समेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गत चैत्र १२ गते देखि हिजो बैशाख १६ गतको बेलुकीसम्म १ हजार ३ सय ४१ जना पुरुष र १ सय ८२ जना महिलालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका सबैलाई आवश्यक सल्लाह, सुझाव र परामर्श दिई छोडिएको प्रहरीले जनाएको छ ।

बुधबार, १७ बैशाख, २०७७, दिउँसोको ०३:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर