कटहरीको विद्यालयलाई प्रविधीसँग जोड्दै पालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयलाई प्रविधमैत्री बनाउन गाउँपालिका लागिपरेको छ ।पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग हुन थालेको हो ।

कटहरी गाउँपालिकाभित्र ३ मावि, ८ कक्षासम्म पढाइ हुने ६ आधरभूत र पाँचसम्म पढाइ हुने १० वटा आधरभूत विद्यालयहरुलाई पालिकाले प्रविधीमैत्री विद्यालय बनाउन लागि परेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । प्रविधिको उपयोग गरेर शिक्षण सिकाइ उपलब्धी बनाउन लागि परेको उनले बताए । सोही अनुसार गाउँपालिकाले दश विद्यालयहरुलाई बुधबार कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । ९ लाख ९० हजार रुपैयाँ बराबरको कम्पप्युटर र प्रिन्टर विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।

गाउँपालिकाले अनन्त आधरभूत विद्यालय, रामजानकी, राधाकृष्ण, लक्ष्मी आधरभूत विद्यालय, ग्रामबाबा, सरस्वती, भगवती, महेशपुर र भगवती आधरभूत विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो ।

यसअघि गाउँपालिकाले विद्यालयहरुमा डिजिटल हाजिरीको शुरुवात गरेको छ । डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने अध्यक्ष चौधरीले बताए । ‘कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन सुरु गरिएको छ । गाउँपालिकाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । त्यसै अनुसार अहिले पालिकाभित्र रहेका विद्यालयहरुमा कम्प्युटर प्रिन्टरसहरु वितरण भएको छ,’ अध्यक्ष चौधरीले भने । चाँडै कम्प्युटर र प्रिन्टिर रहेको विद्यालयका शिक्षकहरुलाई प्रविधिका विज्ञहरु ल्याएर कम्प्युटर तालिम पनि दिइने गाउँपालिकाको योजना रहेको छ ।

प्रविधिसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धीमूलक बनाउनुको साथै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि गाउँपालिका लागि परेको छ । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने गाउँपालिको योजना रहेको छ । अहिले हामी यसरी योजनाबद्ध तरिकाले अगाडि बढेका छौं ।’

बुधबार, २७ मंसिर, २०८०, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर