विराटनगर । उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगीहरु सामाजिक उत्तरदायित्वप्रति गम्भीर नभएको भन्दै मोरङका तीन वटा स्थानीय तहका प्रमुखहरुले व्यावसायीहरुको ध्यानाकर्षण गराएका छन् ।
उद्योग व्यवसाय सञ्चालन गर्दा त्यसबाट वातावरण लगायत स्थानीय नागरिकले अरु धेरै प्रकारका समस्या भोग्नु पर्ने भए पनि कानुनले नै व्यवस्था गरेको सामाजिक उत्तरदायित्व सम्बन्धी नीति कार्यान्वयनमा व्यवसायीहरु उदाशिन हुँदा सर्वसाधारण जनताले सास्ती व्यहोर्नु परेको उनीहरुको गुनासो थियो ।
मोरङका बढी उद्योग क्षेत्र भएका स्थानीय पालिकाहरुलाई लक्षित गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र काठमाण्डौस्थित कम्युनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणको मुद्दामा केन्द्रित रहेर छलफल आयोजना गरिएको थियो । विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिकामा छुट्टाछुट्टै अन्तरक्रिया आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय सञ्चालकहरुले सामाजिक उत्तरदायित्व निर्वाह नगर्दा वातावरण संरक्षणमा मात्र नभएर शहरी सेवा व्यवस्थापनमा समेत समस्या भइरहेको बताए । त्यसका बाबजुद पनि महानगरले भने उद्योगी व्यवसायीका समस्या सुन्दै सम्भव भएसम्म समस्या समाधान गर्ने गरेको दावी गरे ।
यस्तै बुढीगङ्गा गाउँपालिकामा भएको अन्तरसम्वाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उद्योगहरु मापदण्डभित्र सञ्चालन नहुँदा प्रदुषण बढेको बताए । उनले भने ‘उद्योगीहरुले उद्योग सञ्चालनका न्यूनतम मापदण्ड पूरा गरेका छैनन् जसले गर्दा प्रदुषण अत्याधिक बढिरहेको छ ।’ उनले उद्योगीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा पनि उदाशीन देखिएको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गरे । वातावरण प्रदुषणले उद्योग सञ्चालक, कामदार कर्मचारी र स्थानीयवासी सबैको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकोले प्रदुषण कम गर्ने तर्फ गम्भीरता देखाउन पनि अध्यक्ष थापामगरले आग्रह गरे । वातावरण स्वच्छ राख्न हरियाली प्रवद्र्धन गर्नुपर्ने र उद्योगहरुले हरियाली प्रवद्र्धन गर्ने गाउँपालिकाको अभियानमा साथ दिएर वृक्षारोपण गरेको खण्डमा बिरुवाको संख्याका आधारमा व्यवसाय करमा छुट दिने नीति लिएको पनि स्मरण गराएका थिए ।
उनले उद्योगीको समस्या समाधानका लागि गाउँपालिकाले नीतिगत लचकता अपनाइएको, दक्ष जनशक्ति निर्माणमा लगानी गरेको तर उद्योगका कारण गाउँपालिकाको सडक पूर्वाधारमा ठूलो क्षति भइरहेको पनि बताए । वर्षेनी सडक पूर्वाधार मर्मतमा लाखौं रकम खर्च भइरहेको भए पनि उद्योग सञ्चालकहरुले स–साना कर लगाएको विषयमा अनावश्यक विरोध गर्ने गरेकोमा उनले गुनासो गरेका थिए ।
कटहरी गाउँपालिकामा भएको अन्तरक्रियामा अध्यक्ष देवराज चौधरीले उद्योग सञ्चालनमा सहजीकरण गरेको, भूमि वर्गीकरण गरी उद्योग र बस्तीबिचको समस्याको दीगो समाधान गर्ने प्रयत्न गरेको, उद्योगलाई दक्षित गरेर राजस्वका दरहरु परिमार्जन आदि सुधारको प्रयास गरेको बताएका थिए ।
विराटनगरमा भएको अन्तरक्रियामा सहभागी उद्योगीहरुले पनि महानगरप्रति गुनासो राखेका थिए । महानगरले स्थानीय उद्योग व्यवसायसँग सहकार्य गर्न नचाहेको, सामान्य विरोध आएकै भरमा निर्णयबाट पछाडि हट्ने प्रवृत्ति देखाएको र साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनका लागि प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजान चासो नदिएको उनीहरुको गुनासो थियो ।
महानगरका उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली लगायतकोसमेत सहभागिता रहेको कार्यक्रममा उनीहरुले स्थानीय उत्पादन प्रवद्र्धनका लागि प्रद्र्धनशनीस्थल बनाउन र साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्न महानगर प्रतिबद्ध रहेको बताएका थिए ।
राजस्व संकलन गर्दा उद्योगको वर्गीकरण नगरिएको, व्यवसाय कर बढी भएको, गुनासो उद्योगीहरुले गरेका थिए भने अन्य सहभागीहरुले उद्योगले ठेक्कामा श्रमिक नियुक्त गर्ने प्रवृत्तिले आम श्रमिक वर्ग शोषणमा परिरहेको र मजदुरको अधिकार हनन भइरहेको तर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
उद्योगीहरुले भने गाउँपालिकाले राज्यको कानुनविपरीत नयाँनयाँ शिर्षकमा कर लगाउँदा राजस्व पूर्वानुमानयोग्य हुन नसकेको, सीप विकासका नाममा गाउँपालिकाले गर्ने खर्च उत्पादनमूलक नहुँदा दक्ष जनशक्ति पाउन नसकेको, उद्योगमा स्थानीय श्रमीकलाई प्राथमिकता दिइएको भए पनि त्यसलाई महत्व नदिइएको जस्ता गुनासो उद्योगीहरुको थियो ।
यसैगरी कटहरी गाउँपालिकामा भएको सम्वाद कार्यक्रममा उद्योगीहरुले इट्टा लगायतका स्थानीय उद्योग व्यवसायले ग्रामीण अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भएपनि स्थानीय सरकारले त्यसलाई महत्व नदिएको गुनासो गरेका थिए ।