हुलाकी सडकको जामुनगाछी खण्डको निर्माण कार्य सुचारु

संघीय सांसद डा. शेखर कोइरालादेखि मेयर नागेश कोइरालासम्मले चासो नदिएपछि आयोजना सुचारु गराउन एमाले महानगरका अध्यक्ष सागर थापाको पहल

विराटनगर । निर्माण कार्य अलपत्र छोडेको देव एण्ड सायर/भूमि ज्वाइन्ट भेन्चरले विराटनगरको जामुखगाछी केशलीय खण्डको हुलाकी सडक निर्माण कार्यालाई गति दिएका छन् । ठेकेदार कम्पनी र हुलाकी राजमार्ग निर्देशनालय बबरमहलका आयोजना निर्देशकबीच गतसाता भएको छलफल सकारात्मक बनेपछि ठेकेदार कम्पनीले कामलाई अगाडि बढाएको हो ।

काठमाडौंमा भएको बैठकमा आयोजनाका निर्देशक अजयकुमार मुल, सिडिइ माधवप्रसाद अधिकारी, इटहरीस्थित योजना प्रमुख बलिराम मल्ल, निर्माण व्यवसायीका प्रतिनिधि वाशुदेव उप्रेती र नेकपा एमाले महानगर कमिटी अध्यक्ष सागर थापा सहभागी थिए । बैठकले ९ महिनाभित्र उक्त सडक खण्डको निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त सडक खण्डको आयोजना सम्झौता अवधि समाप्त हुने अवस्थामा असार मसान्तसम्म म्याद थप गर्ने र स्थानीयको माग अनुसार सडकको डिजाइन परिवर्तन गर्न निर्देशनालय तयार भएपछि काम अगाडि बढेको हो । काठमाण्डौमा भएको सहमति लगतै सडक निर्माणको कामले तीब्रता लिएको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिएका छन् ।

सडक निर्माण गर्दागर्दै काम छोडेर ठेकेदार बेपत्ता भएपछि जामुनगाछी क्षेत्रका स्थानीयले सडक बनाउन माग गर्दै पटक पटक आन्दोलन गरेका थिए । गएको स्थानीय तह र त्यसपछि भएको आम निर्वाचनमा स्थानीयवासीले सडक बनाउन पहल नगरेको भन्दै त्यस क्षेत्रमा उम्मेदवार प्रवेशमा रोक लगाएर विरोध गरेका थिए । मोरङ क्षेत्र नम्बर ६ का सांसद तथा तत्कालीन समयका उम्मेदवार डा. शेखर कोइरालाले चुनाव लगतै ठेकेदार सडक बनाउन पहल गर्ने सार्वजनिक घोषणा गरेका थिए । उनको घोषणामा नेकपा माओवादीका प्रदेश सभा सदस्यका उम्मेदवार जीवन आचार्य साक्षी बसेका थिए भने विराटनगरका मेयर नागेश कोइरालाले ठेकेदार खोजेर काम सुरु गराउने जिम्मानै लिने बताएका थिए । तर लामो समयसम्म घोषणा गर्ने नेताहरुले आफ्नो प्रतिबद्धता बिर्सेपछि सडक निर्माण कार्य अलपत्र बनेको थियो ।

सडक निर्माण रोकिएका कारण स्थानीयसँगै सुनसरीको बर्जु लगायत हुलाकी सडकबाट यात्रा गर्ने हजारौंले लामो समय सास्ती व्यहोर्नु परिरहेको बेला एमाले महानगरका अध्यक्ष थापाको अग्रसरतामा सडक आयोजना र ठेकेदारबीच नयाँ समझदारी बनेको हो । कात्तिक १४ गते काठमाण्डौमा दुवै पक्षको बैठक राखेर दुई बुँदे निर्णय गराउन थापा सफल भएका थिए । नयाँ निर्णयसँगै सडक निर्माणको कामले गति लिएको हो ।

सुरुमा सडकको डिजाइन आवश्यकताभन्दा अग्लो भएको र त्यसले स्थानीय बस्ती डुबानमा पर्ने भन्दै केही स्थानीयले काममा अवरोध गरेपछि ठेकेदार कम्पनी काम छोडेर हिँडेको थियो । लामो समयसम्म काममा नफर्केको ठेकेदार कम्पनी साइड कण्डिसन अनुसार सडकको डिजाइन लेवल परिमार्जन गर्न आयोजना सकारात्मक भई भेरिएसन स्वीकृति प्रक्रिया अगाडि बढाउन सहमत भएपछि शनिबारबाटै माटो पुर्ने काम अगाडि बढिसकेको छ । भेरिएसन प्रक्रिया टुंगिन केही समय लाग्ने भएपनि तुरुन्तै काम अगाडि बढाउने सहमति भएकोले ठेकेदार कम्पनीले सहमति अनुसार काम अगाडि बढाएको अध्यक्ष थापाले बताए ।

नयाँ डिजाइन अनुसार सडकको उचाई पूर्व डिजाइन भन्दा एक मिटर डाउन हुने छ । सडक अग्लो हुँदा स्थानीयले बस्ती डुब्ने चिन्ता व्यक्त गरेको र विराटनगर विमानस्थलमा पनि पानी जम्नसक्ने जोखिमलाई ध्यान दिएर परियोजना सडकको उचाइ घटाउन तयार भएको हो । त्यससँगै सडकको पूरै खण्ड कालोपत्रे गरेर बीचमा डिभाइर राख्ने गरी डिजाइन संशोधन गर्ने सहमति बनेको छ । सडकमा पर्ने बिजुलीको खम्बा सार्न भने नयाँ ठेक्का लगाउने गरी छलफल भएको थियो ।

गएको स्थानीय तह निर्वाचनमा मेयर पदका प्रतिस्पर्धिसमेत रहेको एमाले नेता थापाले लामो समयदेखि ठेकेदार कम्पनी र आयोजनाबीच छलफल गराउने पहल गर्दै आएकोमा पछिल्लो पटक सकारात्मक परिणाम प्राप्त गरेको बताए । निर्वाचित जनप्रतिनिधिहरुले जनताको सरोकार सम्बोधन गर्नुपर्नेमा उनीहरु गम्भीर नबनेपछि थापाले आफ्नो सक्रियता बढाएका थिए । ‘जनताको काम सबैले मिलेर गर्नुपर्छ, यसमा मैले केही भूमिका निर्वाह गर्ने अवसर पाएँ,’ थापाले भने ‘जनताले निर्वाचितहरुसँग अपेक्षा गर्नु स्वभाविक हुन्छ तर निर्वाचितहरु सरकार चलाउन व्यस्त हुँदा मैले जनताको काममा ध्यान लगाएको हुँ ।’

सोमबार, २० कार्तिक, २०८०, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर