विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको एजेण्डा आफूले प्रदेशमा लागू गर्न खोजेको बताएका छन् ।
एमालेको सहमतिविपरित माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको सन्दर्भमा मुख्यमन्त्रीले कार्कीले प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको दावी गरे ।
सहमतीय सरकारको एजेण्डा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै भएकोले एमाले यसबाट पन्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ । ‘सहमतीय सरकारको कुरा अघिल्ला मुख्यमन्त्रीहरुकै एजेण्ड हो’ उनले भने, ‘हिक्मतकुमार कार्कीले संसदमा पटक–पटक सहमतिको सरकार बनाउन आह्वान गनुएभको भएपनि त्यसबेला नजुटेको सहमति अहिले जुटेकोले त्यसमा सबै दल खुसी हुनुपर्ने अवस्था हो ।’
तत्कालिन हिक्मत मुख्यमन्त्री कार्की र उद्धब थापा दुबै जनाले सहमतीय सरकारको प्रस्ताव गरेपनि दलहरु सहमत नभएकोमा आफ्नो नेतृत्वलाई सबैले विश्वासको मत दिएर सहमति जनाएको मुख्यमन्त्रीले दावी गरे । ‘अघिल्ला मुख्यमन्त्रीको प्रयासमा सहमति नजुट्दा उहाँहरुले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन’ उनले भने, ‘मेरो प्रयासमा सहमति जुटेकोले नै राप्रपाबाहेक सबैको विश्साको मत पाएको हुँ’
यसअघि एमाले सरकारमा रहुञ्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्था आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए । ‘प्रदेशको अवस्थाबारे छलफल गरेपछि माओवादी र समाजवादी सरकारमा आउन राजी हुनुभयो, सहमतीय सरकारमा बनाउन तयार हुनुभयो’ उनले भने, ‘त्यसमा एमाले पनि सहभागी हुने विश्वास छ ।’ सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई उनले आग्रहसमेत गरे ।
शनिबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए । एमालेकै सहयोगमा आफू मुख्यमन्त्री भएकोले फेरि पनि एमालेलाई साथमा लिएर अगाडि बढ्ने प्रयास गर्ने उनको भनाई छ । ‘एमालेका प्रदेशसभा सदस्यकै सहयोगमा म मुख्यमन्त्री बनेको हुँ’ उनले भने, ‘प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो बन्द हुँदैन । सबै मिलेर प्रदेशको हितमा काम गरौं ।’
गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। शपथग्रहणलगत्तै उनले असोज २८ गते विद्रोही कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेकोमा शनिबार मगरले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए । प्रदेशमा सहमतीय सरकार बनाउने भन्दै आएका कार्कीलाई एमालेले भने काँग्रेस र एमालेको मात्र सरकार बन्नुपर्ने अडान राख्दै आएको थियो । एमालेको अडानविपरित कार्कीले मन्त्री नियुक्त गरेकोले एमाले सरकारबाट बाहिरिएको हो ।
संविधान जारी गर्दादेखि जनआन्दोलन सफल बनाउँदा दलहरूबीचमा भएको सहकार्यलाई स्मरण गर्दै मुख्यमन्त्री कार्कीले दलहरुबीचको सहकार्यले नै लोकतन्त्र बलियो हुने र परिवर्तनलाई संस्थागत गर्न सकिने बताए । आफूलाई विश्वासको मत दिँदा सबै दलहरु एकैठाउँमा उभिएको स्मरण गर्दै उनले एकअर्कामा दुराभाव नराखिकन सहकार्यमा आउन एमालेलाई आग्रह गरे ।
आफ्नो नेतृत्वको सरकार सत्ता टिकाउनका लागि क्याल्कुलेट गरेर सत्ता टिकाउन कसरत गर्नु नपर्ने खालको रहेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले कार्तिक २० गतेबाटै बजेट प्रतिस्थापन विधेयक संसदमा जाने बताउँदै त्यसपछि कर्मचारीसँग सम्बन्धीत विधेयक अगाडि लिएर जाने पनि जानकारी दिए । यही अधिवेशनबाट संसदीय समितिहरु निर्माणको पहल सुरु गर्ने पनि उनले बताएका छन् । ‘अहिले चलिरहेको प्रदेशसभा संचालन नियमावली अनुसार नै समिति बन्छन्, त्यसका लागि छलफलको पहल अगाडि बढिसकेको छ,’ उनले भने ।
सहमतिका लागि र चाडबाडको कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताउँदै छिट्टै सरकारले पूर्णता पाउने मुख्यमन्त्री कार्कीले बताएका छन् । ‘अब विभागको जिम्मेवारीसहित छिट्टै सरकारलाई पूर्णता दिन्छौं । तिहारपछिसम्म जाँदैन,’ उनले भने, ‘सरकारलाई नयाँ रूपले हामी अगाडि बढाउन चाहन्छौं ।’ प्रदेशको भौतिक विकासमा सरकारले धेरै फड्को मारेकोले अब मानवीय विकास स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा काम गर्ने उनको भनाइ छ । कोशी प्रदेशमा सहमतीय सरकारको विकल्प नरहेको भन्दै उनले राप्रपालाई पनि सहमतीय सरकारमा आउन आह्वान गर्ने बताए ।
कार्कीले जाजरकोट भूकम्पबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा शनिबार साँझ नै राहत सामग्री पठाउने तयारी गरिरहेको जानकारी दिएका छन् ।