विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई उनकै दल नेपाली काँग्रेसले बिना विभागीयको रुपमा नियुक्त एमालेका मन्त्री रामबहादुर राना मगरलाई बर्खास्त गर्न आन्तरिक दबाब दिएको छ ।
काँग्रेस स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री कार्कीले भने ढिलोचाँडो एमाले बाहिरिने भएको कारण बर्खास्त नगर्ने रणनीति बनाएका छन् । कोशी प्रदेशका काँग्रेसका एक नेताले नाम उल्लेख नगरी भने, ‘एमालेको मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने काँग्रेसको लाइन हो ।’
मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरुको बैठकमा सहभागी भएर त्यसखालको निर्णयमा सहमति पनि गरेका छन् । तर, कार्यान्वयन भने अब हुने उनले दाबी गरे । ‘पार्टीको लाइन पहिले नै एमाले बाहिरिनुपर्छ भन्ने हो । विस्तार गरेर त बाहिरिन्छ नै । तर, त्योभन्दा पहिले नै बाहिरिनु पर्यो नि त । सरकार पुनःगठन गरिहाल्नु पर्यो,’ उनले भने, ‘एमालेलाई आमनेसामने तरिकाले नै छोडाउनु पर्छ । चारबाटो भन्दा मूल ढोकाबाटै निकाल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अब त्यसो हुँदैन भने झ्यालबाट पनि निकाल्छौं । मुख्यमन्त्रीले मन्त्री बर्खास्त गर्नुपर्यो नि त ? म गठबन्धनको सरकार बनाउँछु तपाईहरु छोड्नु भन्नुपर्छ मुख्यमन्त्रीले ।’
उनले एमालेको मन्त्री हुँदाहुँदै गठबन्धनबाट नयाँ मन्त्री थप्न पनि अप्ठ्यारो भएको सुनाए । ‘झण्डा हल्लाएर बिना जिम्मेवारी एमालेको मन्त्री किन कुदेको ? राजीनामा दिनुपर्दैन ? न विभाग छ, न इज्जत छ । काँग्रेसको लाइन भनेको मन्त्रीबाट एमालेलाई हटाउनु पर्छ भन्ने हो,’ उनले दाबी गरे ।
यसैबीच आजै साँझसम्ममा एमाले र काँग्रेसको निर्णायक वार्ता हुने बताइएको छ । आज बिहान एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग काँग्रेसका केही नेताहरुले विराटनगरमै छलफल गरेका थिए । उक्त छलफलका क्रममा पनि काँग्रेस नेताहरुले एमाले नेता कार्कीलाई सहमतिको सरकार बनाउँ भन्ने प्रस्ताव गरेका थिए । कार्कीले भने माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भए आफूहरु सरबारबाट बाहिरिने अडान राखेको स्रोतको दाबी छ ।
काँग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धब थापा भने काठमाडौंमा रहेका कारण उनी आएपनि पुनः आजै साँझ अर्को छलफल गरेर निष्कर्ष निकाल्ने दुवै दलको तयारी छ । ‘दुई घण्टापछि निष्कर्ष निस्कन्छ, किन हतारिनु भएको,’ बैठकमा सहभागी एक नेताले भने । गठबन्धन दलहरुले भने माओवादी र नेकपा एसको तर्फबाट १–१ जना मन्त्री तत्काल नियुक्त गर्ने सहमति गरेका छन् । ‘सम्भवतः आइतबारसम्ममा मन्त्रीमण्डल विस्तार हुन्छ,’ ति नेताले भने ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेसका नेता कार्की गत असोज २७ गते एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले शपथग्रहण गरेकै दिन एमालेबाट रामबहादुर राना मगर र काँग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन् । तर, उनीहरुले जिम्मेवारी भने अझै पाएका छैनन् । मन्त्री राना मगरले जिम्मेवारी नपाउँदा नरमाइलो लागिरहेको प्रतिक्रिया दिए । ‘त्यति राम्रो लागिरहेको छैन, छलफल जारी छ । छिट्टै निकास निस्किन्छ भन्ने विश्वास गरौं,’ उनले भने ।