टी–२० विश्वकप खेल्न नेपालले यूएईको सामना गर्ने

विराटनगर । नेपालले टी–२० विश्वकप छनोटको लागि सेमिफाइनलमा यूएईसँग खेल्ने भएको छ ।

ओमानसँग बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपालले समूहको उपविजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने निश्चित भएको हो ।

नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । सो खेलको विजेता विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्नेछ भने विश्वकपको लागि पनि छनौट हुनेछ ।

नेपालले बिहीबार भएको खेलमा ओमानबाट १४६ रनको विजय लक्ष्य लिएर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मैदानमा उत्रिएकोमा २० ओभर खेलेर १४० रनमा अलआउट भएको थियो । अन्तिम दुई ओभरमा ३६ रन बनाए पनि नेपाललाई त्यो विजयका लागि पर्याप्त भएन ।

अन्तिम ओभरमा विवेक यादवले पहिलो ३ बलमा लगातार छक्का प्रहार गरेपछि नेपाललाई अन्तिम ३ बलमा विजयका लागि ७ रन चाहिन्थ्यो । तर, उनी चौथो बलमा आउट भए । पाँचौं बलमा अविनाश बोहराले १ रन लिएपछि स्ट्राइकमा आएका करण केसीले लङ अफमा क्याच दिन पुगे ।

विवेकले २४ बल खेली ५ छक्कासहित ३९ रन बनाए । करणले ११ बलमा १ चौका र एक छक्का सहित १५ रन बनाए । नेपालबाट आसिफ शेख ५, सोमपाल कामी १२, कुशल भुर्तेल २६, कप्तान रोहित पौडेल १२, कुशल मल्ल १० र सन्दीप जोरा १२ रनमा आउट भएका थिए । गुल्शन झाले ३ रनमात्र बनाउन सके । यूएईका बिलाल खानले ३ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले ९ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो ।

बिहिबार, १६ कार्तिक, २०८०, दिउँसोको ०३:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर