विराटनगर । कोशी प्रदेशमा दूधको उत्पादन बढ्दो रहेपनि खपत नहुँदा चिन्तामा रहेका किसान र डेरी उद्योगहरुले विकल्प खोजी रहेका छन् । उद्योगहरुमा स्टक रहेको पाउडर दूध र घ्यूको खपत दशैंको सन्दर्भमा केही बढेपनि अझै उत्पादनको अनुपातमा खपत छैन ।
दूधको उत्पादन बढेको बेला दूग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको संचार गराएको छ । उद्योगी व्यवसायीको टोली बंगलादेशमा दूधजन्य वस्तुको निर्यातको सम्भावना बुझेर फर्किएपछि बंगलादेशका व्यवसायीको टोली पनि प्रदेशका उद्योग तथा दूधजन्य वस्तुको अवस्थाबारे बुझेर फर्किएको छ ।
गत कार्तिक ४ गते बंगलादेशको व्यवसायीक टोलीले विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योगको अनुगमन गरेको छ । यस्तै उक्त टोलीले यहाँ उत्पादित पाउडर दूध र घ्यूको नमूना लिएर गएको छ । सूर्योदय मिल्क एण्ड बेभरज इण्डष्ट्रिजका सञ्चालक मनोज यादवका अनुसार सरकारी निकाय र व्यापारीहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएकोले निर्यातको संभावना बढेको छ ।
बंगलादेशका व्यापारीले पाउडर दूध (धूलो दूध)बारे मात्रै चासो दिएका थिए । तर, पाउडर दूधसँगै घ्यू पनि लैजान नेपालका उद्योगीले आग्रह गरेका छन् । पाउडर बनाउँदा घ्यू पनि उत्पादन हुन्छ । त्यसका साथै बंगलादेशका व्यापारीले कति निर्यात गर्नसक्ने हो तथ्यांक दिन भनेका छन् ।
नेपालका व्यवसायीले निर्यात गर्नसक्ने क्षमताबारे तथ्यांक संकलन गरिरहेको जनाएका छन् । ‘अहिले भएको माल सकिएपछि के हुन्छ भन्ने उनीहरुको कन्सर्न थियो,’ यादवले भने, ‘हामीले दिनसक्ने कति हो ? निरन्तर निर्यात गर्न सक्छौं कि सक्दैनौं भन्ने विषयमा उनीहरुको चासो छ ।’
दूधको निर्यात भने ९० प्रतिशत हुन्छ भनेर विश्वास गर्ने आधार बनिसकेको उद्योगीहरुले बताएका छन् । कोशी प्रदेशका डेरी उद्योगहरुले चार महिनादेखि उत्पादन गरेको घ्यू र पाउडर दूध स्टकमा रहेको छ । ‘चार महिनाको स्टक घ्यूको व्यवस्थापन गर्न सकिएन भने समस्या हुन्छ’ यादवले भने, ‘हामीसँग प्रोडक्ट छ । ८०–२० प्रतिशतको रेसियोमा घ्यू र पाउडर लान अनुरोध गरेका छौं ।’
हाल बंगलादेशमा युरोपबाट दूध र घ्यू आयात भइरहेको छ । नेपालबाट दूध र घ्यू निर्यात हुँदा युरोपको भन्दा महंगो पर्ने बताइन्छ । ‘नेपालसँगको सम्बन्ध र छिमेकी देशको नाताले उनीहरु हामीसँगै लोयल छन्,’ यादवले भने, ‘हामीले चाहिं युरोपको भन्दा १० प्रतिशत महँगो भएपनि नेपालबाटै दूध र घ्यू लान अनुरोध गरिरहेका छौं ।’नेपालको उत्पादन लागत बढी भएको कारण मूल्य बढी भएको उद्योगीले बताएका छन् । बंगलादेशबाहेक पाकिस्तान र कतार पनि दूधको बजार रहेको नेपाली उद्योगीहरु बताउँछन् ।
दूधको उत्पादन बढेपछि कोशी प्रदेशको ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एशोसिएसनसमेतको प्रतिनिधिमण्डल बंगलादेशमा दूध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको थियो । दूधको उत्पादन बढेसंगै कोशी प्रदेशमा तीन डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । विराटनगरमा रहेको सरकारी स्वामित्वको दूग्ध वितरण आयोजनाले पनि पाउडर दूध उत्पादन गरिरहेको छ ।
पाउडर दूध उत्पादन हुँदा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुनसकेको छैन । जसले गर्दा दूध संकलन गर्दै आएका सहकारीहरुले मिल्क होली–डे लागु गरिरहेका छन् । मिल्क होलिडे अझै बढ्नसक्ने दूध व्यवसायी राजकुमार खनाल बताउँछन् । गएको फागुन महिनासम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको थियो । तर, त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आएको छ ।
कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूधमध्ये १ लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् । दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले दिएको प्रतिलिटर २ रुपैयाँ अनुदानले पनि काम गरेको व्यवसायीहरुले बताएका छन् ।
अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ रहेको छ । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने तथ्यांक उल्लेख छ ।
प्रदेशमा अहिले प्रतिव्यक्ति दूध उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । प्रदेशमा दूध उत्पादन मागभन्दा बढि भइरहेको कोशी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।