विराटनगर । आर्थिक अभावले गर्दनको हाड तथा नशामा लागेको चोटको उपचार गर्न नसकेर थलिएकी विराटनगर १२ कि महिलाको उपचार सुरु भएको छ ।
विराटनगर–१२ कि ४६ वर्षीया मायादेवी सहनीको कोशी अस्पतालमा उपचार सुरु भएको हो । सहनीको विराटनगर–१२ मंगलबारे हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित पुग्नु भएको थियो । सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले उपचारको व्यवस्था गर्न स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई आग्रह गरी समन्वय गरिदिएका थिए ।
गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् ।
लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो । बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन् । बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए ।
बिरामीको अवस्था बुझेपछि सहनीको उपचार गर्ने र त्यसमा कमी हुन नदिने मेयर कोइरालाले बताए । बिरामीलाई स्पानइल कर्ड इन्जुरीको समस्या छ । यस प्रकारको बिरामीलाई राज्यका तर्फबाट उपचारका लागि १ लाख र मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसारको सुविधाहरु उपलब्ध गराइने स्वास्थ्य महाशाखा प्रमुख अलीले बताएका छन् ।