नेपालमा १४ महिनापछि बढ्यो आयात व्यापार

काठमाडौँ । आर्थिक वर्ष २०७९–८० को सुरुदेखि नै घट्दै गएको नेपालको आयात व्यापारमा १४ महिनापछि सुधार देखिएको छ ।

चालू आर्थिक वर्षको असोजमा आयात व्यापारमा बृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो महिनामा नेपालको आयात र निर्यात नै खुम्चिएको थियो । उक्त अवधिमा नेपालको आयात १२.९० प्रतिशत खुम्चिएको थियो भने निर्यातमा २८.६८ प्रतिशतको गिरावट आएको थियो । त्यसयता प्रत्येक महिना निरन्तर घट्दै गत आर्थिक वर्षमा आयात १६.०८ प्रतिशतले खुम्चिएको थियो भने वर्षभरमा निर्यात २१.४४ प्रतिशतको गिरावट आएको थियो ।

गत वर्ष केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चितिमाथि चाप परेपछि आयातमा कडाइ गरेको थियो । त्यसबाहेक, कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण मूल्यवृद्धि र उपभोक्ताको आम्दानी खुम्चेर बजार माग घट्दा समेत आयात खुम्चिएको थियो ।

गत आर्थिक वर्षमा देखिएको आयात–निर्यातमा गिरावटको सिलसिला चालू आर्थिक वर्षको पहिलो दुई महिनामा समेत देखियो । साउन महिनामा आयात १.५६ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले खुम्चिएको थियो भने भदौ महिनासम्ममा आयात ५.०६ प्रतिशतले र निर्यात ७.७९ प्रतिशतले खुम्चिएको थियो ।

असोज महिनासम्ममा आइपुग्दा निर्यात ऋणात्मककै स्थितिमा रहेपनि आयातसँगै वैदेशिक व्यापार बढेको छ । यो महिनामा आयात १.६९ प्रतिशतले बढेको छ । जसले व्यापार घाटा भने बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आयात घटेको कारण राज्यको राजश्वको मुख्य स्रोत भन्सार राजश्व असुली प्रभावित भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोडको विदेशी सामान भित्रिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ४ खर्ब ९९ करोड बराबरको सामान आयात भएको थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पनि गत वर्षको सोही अवधिकोभन्दा कम आयात भएकोमा असोजमा बढेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार असोजमा मात्रै एक खर्ब ४१ अर्बको आयात भएको छ। आयात व्यापार बढ्दा व्यापार घाटा बढेको छ। असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ। यो गत वर्ष असोज मसान्तको तुलनामा २.१५ प्रतिशतले बढी हो।

यो अवधिमा निर्यात व्यापार भने घटेको छ। तीन महिनाको अवधिमा ४० अर्ब ८७ करोडको निर्यात भएको छ। गर्त वर्ष यही अवधिमा ४१ अर्ब ८२ करोडको सामान निर्यात भएको थियो।

नेपालमा आन्तरिक माग बढ्नसाथ आयात ह्वात्तै बढ्ने र माग घट्नसाथ आयात समेत घट्ने गर्छ । दशै र तिहारजस्ता चाडपर्वको कारण पनि असोज महिनाको अन्तिमसम्ममा आयात बढेको अनुमान गरिएको छ ।

असोज महिनासम्ममा नेपालको निर्यात गत वर्षको सोही अवधिको तुलनामा घट्नुबाहेक सबै व्यापार सूचक बढेका छन् । जसमा व्यापार घाटा २.१५ प्रतिशतले बढ्दा कूल वैदेशिक व्यापार १.३१ प्रतिशतको सुधार देखिएको छ । नेपालको आयात बढ्दा र निर्यात खुम्चिँदा व्यापार घाटा समेत बढ्छ । लगातार १४औँ महिनासम्म ऋणात्मक रहेको व्यापार घाटा अब भने धनात्मक अवस्थामा आइपुगेको छ ।

चालू आर्थिक वर्ष २०८०–८१ को तीन महिनाको अवधिमा अर्थ मन्त्रालयले १ खर्ब ४५ अर्ब ८ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलनको लक्ष्य पाएको थियो । अर्थ मन्त्रालयले प्रत्येक महिनाको भन्सार राजश्व सङ्कलन लक्ष्य तय गर्दा असोज महिनासम्ममा उक्त परिणामको राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ७४.९५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ ।

असोज महिनासम्मको अवधिमा विभागले १ खर्ब ८ अर्ब ७५ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आयात खुम्चिँदै जाँदा राजश्व सङ्कलनको लक्ष्य प्रभावित परेको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक १२ गतेसम्मको अवधिमा २ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो लक्ष्यको १६ प्रतिशत हो । चालू आर्थिक वर्षमा राज्यले कूल १४ खर्ब ७२ अर्ब राजश्व (कर, अनुदान र अन्य आम्दानी) सङ्कलनको लक्ष्य लिएको छ । अहिलेसम्म विनियोजित १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमध्ये ३ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ खर्च भइसकेको छ ।

चालू आवको तीन महिनामा आम्दानीको तुलनामा ५८ अर्बले बढी खर्च भएको छ ।

आइतबार, १२ कार्तिक, २०८०, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर