कोशीमा १२८ मेगावाटको विद्युत आयोजना थपिँदै

विराटनगर । कोशी प्रदेशमा जलविद्युत आयोजनाहरु थपिने क्रम जारी छ । यहीक्रममा लामो समयदेखि चर्चामा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको निर्माण हुने भएको छ ।

यो आयोजनाको निर्माण यसै वर्षबाट हुने भएको हो । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पीपीए)गरेसँगै स्पार्कले तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाउने बताएको छ । पीपीए सम्झौताअनुसार कम्पनीले आगामी २०८५ साल असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्नुपर्ने छ ।

निर्माण कार्य सुरु गर्नुअघि गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम पीपीए पूरा भएपछि स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले आउँदो चैत महिनाको पहिलो साताबाट निर्माणको शिलान्यास गर्ने गरी तयारी अघि बढाइएको बताए । कुमारी बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले लगानीको प्रतिबद्धता जनाएको समेत उनले जानकारी दिए । उनका अनुसार आगामी ६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाहरूमार्फत सबै वित्तीय व्यवस्थापनको कार्य पूरा हुने छ । बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिद्धतालाई सुनिश्चित गर्ने कार्य पूरा नहुन्जेल सम्म शेयर पुँजीबाट लगानी परिचालन गर्ने योजना बनाइएको लिम्बूले बताए ।

स्पार्कका अध्यक्ष लिम्बूले अब जलविद्युत आयोजना निर्माण नहुने होकी भन्ने शंका समाप्त भएको बताए । ‘मंसिरबाटै हामी निर्माणस्थलमा गनुपर्ने पूर्व तयारीका लागि जुट्ने छौँ’ लिम्बूले भने । उनले चैत महिनाबाट निर्माणको कार्य सुरु गरी ४ वर्षभित्र आयोजना पूरा गर्ने जानकारी दिए । पीपीए सम्झौता अनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनाले वार्षिक ७१ करोड १४ लाख ३३ हजार २ सय ९८ युनिट बिजुली उत्पादन गर्नेछ ।

आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खा याममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट बिजुली उत्पादन गर्नेछ । वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ ।

२४ अर्ब ३२ करोड रुपैयाँ कूल लागत अनुमान रहेको आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवद्र्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ । यो आयोजना ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ । २०७७ साल असोज २५ गते बिद्युत विकास विभागबाट १ सय २८ मेगावाट क्षमताको बिद्युत उत्पादनका लागि स्पार्कले अनुमति पाएको हो ।

शुक्रबार, ०३ कार्तिक, २०८०, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर