विराटनगर । गठबन्धन दलका शीर्ष नेताहरु बिचमा भएको सहमति अस्वीकार गर्दै नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको हस्ताक्षर लिएर कार्की समूहले आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदमा दाबी पेश गर्ने जनाएको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद मानबहादुर लिम्बूले भने शीर्ष नेताहरुबीच भएको सहमति भन्दा बाहिरा जान नसकिने बताउनुभएको छ । यद्यपि लिम्बूले केही दिन अगाडि नै कार्कीलाई समर्थन गर्दै आफ्नो हस्ताक्षर बुझाइसकेका छन् । ‘एकै व्यक्तिलाई पटक पटक मुख्यमन्त्रीमा प्रस्ताव गर्नु हुँदैन विकल्प खोज्नु पर्छ भनेर मैले हस्ताक्षर दिएको हुँ,’ सांसद लिम्बूले भने ‘शीर्ष नेताले गठबन्धन दलको अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यौं भनेर औपचारिक खबर नगरेका कारण साथीहरुले दाबी गर्न खोज्नु भएको होला तर सहमतिको औपचारिक जानकारी आएमा निर्णय भन्दा बाहिर जाने कुरा हुँदैन ।’
मुख्यमन्त्री पदमा दाबी पेश गर्न जाने क्रममा नेकपा एमालेका नेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले दोहोरो दाबी पर्ने सम्भावना रहेको बताए । ‘हामी दाबी पेश गर्न हिड्यौं तर दोहोरो दाबी पेश हुने देखियो ।’
त्यसअघि नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा गठबन्धनलाई सजिलै दाबी गर्ने अवस्थाबाट रोकेर हस्ताक्षर सनाखत गर्ने अवस्था सिजर्ना गर्ने निश्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।