मुडियारी समुदायले उत्साहकासाथ मनाए जितिया

ग्रामथान ।मुडियारी समुदायको जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रले मुडियारी जाति समुदायको प्रमुख पर्व जितिया उत्साहपूर्वक मनाएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गरी उनीहरुले पर्व मनाएका हुन् ।

मुडियारी जाति समुदायहरूले जातीय विधि, परम्परा, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ यस पटक पर्वलाई विशेष बनाए । मोरङको कटहरी गाउँपालिका वडा नं ७ थलाहा डंगटोली, भौडाहा जंगलटोल समिति तथा रंगेली नगरपालिका वडा नं १ र २ ले छुट्टाछुट्टै कार्यक्रम गरेर पर्वलाई महत्वका साथ मनाएका थिए ।

मुडियारी जाति समुदायहरूको जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा नं ७ थलाहा डंगटोली मुडियारी टोलले जितिया पर्वको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्यो । साथै समाजसेवी सम्मान, साँस्कृतिक टोलीहरूलाई सम्मान, मुडियारी समुदायको केन्द्र भवन सिलान्यास आदि कार्यक्रम यसक्रममा सम्पन्न गर्यो ।

मुडियारी जाति समुदायहरूका महिलाहरूले ब्रत बसी जितिया पर्वको जातिय विधि अनुसार जितिया पर्व मनाए । जमरा, चामल, पान, मिठाइ, दुबो, चन्दन आदि आवश्यक पूजा सामग्रीसहित महिलाहरुले पिपलको हांगा, बेतको लाठ्ठीसहित पूजापाठ गरे ।मुडियारी जाति समुदायले जितिया पर्व आ–आफ्नो टोलमा पूजापाठ गरेर सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, उन्नति र प्रगतिको कामना गर्दै सांस्कृतिक कार्यक्रम गरी धूमधामका साथ मनाए ।

जितिया पर्वमा जितिया गाड्ने र यो पर्व मनाउँदा मनोकामना पूरा हुने जनविश्वास छ । यो पर्व व्यक्तिगत र सामुहिकरुपमा मनाउने प्रचलन छ । यस क्रममा उनीहरुले जितिया नृत्य लगाएत अन्य साँस्कृतिक कार्यक्रम गरे । यस क्रममा मोरङ क्षेत्र नं ४ संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी, प्रदेश सांसद जयप्रकाश चौधरी, मुडियारी जाति समुदायको जेष्ठ नगरिक सकलीदेवी मुडियारी, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय कोषाध्यक्ष सितादेवी मुडियारी आदि अतिथिहरु कार्यक्रममा महत्वका साथ सहभागी भए । त्यस क्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु पनि सहभागी भएर पर्वलाई विशेष बनाउन योगदान गरे ।

जितिया पर्व अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अमनलाल मोदीले मुडियारी जाति समुदायहरूको जातिय पहिचानलाई राज्यले संरक्षण गर्ने र यस समुदायका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यआदिमा राज्यलाई जिम्मेवार बनाउन पहल गर्ने बताए । मुडियारी समुदायले आफूहरुलाई आदिवासी जनजातीमा सूचिकृत गर्न माग गर्दै आएकोले राजनीतिक दलका नेताहरुले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । मुडियारी जाति समुदायको साँस्कृतिक नृत्य, परम्परा, संस्कार, संस्कृति आदि मौलिकता हराउन नदिन सरकाले भाषा, परम्परा, संस्कृति, संस्कार चार्डपर्व, रितिरिवाज, भेषभूषा, चालचलन, पेशा, रोजगारी, जातीय सिप र पहिचान संरक्षण गर्न सहयोग गर्ने उनीहरुले बताए ।

मुडियारी समुदाय मोरङको ग्रामथानको झोराहाटस्थित झङडाइ टोल, कटहरीको भौंडाहा जंगलटोल, थलाहाको डंगटोली मुडियारी टोल, मन्दिर टोलहरूलगाएतमा बसोबास गर्दै आएका छन् ।मुडियारी समुदायले बहरजतरा पूजा, ग्रामथान पूजा, तिहार, होली, नयाँ वर्ष, करम पूजा (कर्मा धर्मा पर्व ) आदि महत्वका साथ मनाउने गरेका छन् ।

बुधबार, २४ असोज, २०८०, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर