माथिल्लो मैलुङ खोलाको आइपीओ बिक्री खुला

विराटनगर । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपीओ खुल्ला गरेको हो । १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । त्यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले दिएको रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादनसमेत सुरु गरेको छ । आयोजनाले विद्युत उत्पादन गर्न २०६९ साल ९ महिना २० गते पाएको थियो भने अनुमति २०७८ फागुन ९ गते अद्यावधिक भएको थियो । अनुमति २१०७ फागुन २६ गतेसम्म रहन्छ ।

आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७६ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२.२९ वर्ष छ ।

२०८० साल साउन १५ गतेसम्म आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युतलाई विद्युत गृहसँगै रहेको स्विचवार्डबाट करिव ११ किलोमिटर लामो १३२ कि.भी क्षमताको सिङ्गल सर्किट विद्युत प्रसारण लाईन मार्फत नुवाकोट जिल्लाको किस्पाङ गाँउपालिका वडा नं ५ पहिरेबेशीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन त्रिशुली थ्री बी हब सवस्टेसनमा जोडिनेछ । विद्युत प्रसारण लाइन आयोजनाको २८ वटा टावरमध्ये २७ वटा टावरको जग निर्माण भईसकेको छ ।

माथिल्लो मैलुङ खोलाको अधिकृत पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २५ प्रतिशत तथा आयोजनामा कार्यरत कर्मचारीको हिस्सा ५ प्रतिशत रहनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म ४९ लाख १६ हजार रुपैयाँ नाफा कमाउने कम्पनीको वित्तीय प्रक्षेपणमा छ । त्यस्तै, २०८१—८२ मा ८ करोड २२ लाख ८३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ भने २०८२—८३ मा १० करोड ४ लाख ३२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ८८ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ०४ पैसा हुने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २० पैसा हुने प्रक्षेपण छ ।

बिहिबार, १८ असोज, २०८०, दिउँसोको ०१:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर