विराटनगर । बजार अनुगमनलाई प्रभावकारी बनाएर लैजानुपर्ने सरोकारवालाहरूले एक कार्यक्रममा बताएका छन् । बजार अनुगमन नहुँदा उपभोक्ताहरूले अखाद्य बस्तु खान बाध्य भएको र कालोबजारी पनि बढेको भन्दै उनीहरूले सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका हुन् ।
भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङले विराटनगरमा बुधवार आयोजना गरेको आसन्न चाडपर्वहरू हाम्रो साझा दायित्व विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहले आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । एउटै ठाउँमा विभिन्न निकायले अलगअलग रूपमा बजार अनुगमन गर्दा स्रोत, साधन र समय खेर गएकोले एकीकृत रूपमा अनुगमन गर्नुपर्नेमा सरोकार बाहरूको भनाई छ ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण समितिका विनोद सुवेदीले बजारमा अहिले पनि उपभोग्य बस्तुको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिन बाध्य भएको बताए । ‘विराटनगरको पसलमा अहिले पसलै पिच्छे खाद्यवस्तुको फरक फरक मूल्य रहेको छ । यहाँको बजारमा नियामक निकायको प्रभावकारी अनुगमन हुन नसक्दा उपभोक्ताले स्वच्छ खाद्यवस्तु खान पाएका छैन,’ उनले भने, ‘त्यसैले अहिले बजार प्रभावकारी अनुगमनको जरुरी रहेको छ ।’ पब्लिक फोरमका अध्यक्ष उत्तम ढङ्गले बजार चाडपर्व केन्द्रित मात्र नभएर अरुबेला पनि बजार अनुगमनलाई प्रभावकारी बनाएर अगाडी बढ्नुपर्ने बताए । चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि, सामग्रीको परिमाण र गुणस्तर नियन्त्रणलाई ध्यानमा राखेर अनुगमन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरनाले बजारमा कालो बजारी गर्नेलाई कडा कारबाहीको दयाराम ल्याउनुपर्ने बताए । राज्यले बदनामी गर्नेलाई कडा कारबाही गरेपछि व्यापार व्यवसायहरू मर्यादित र स्वच्छ हुने उनले बताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप कुमार साहले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बजार अनुगमनलाई तीव्र रूपमा अगाडी बढाउने उनले बताए । विराटनगर महानगरपालिकासँग समन्वय गरेर असोज ५ गते बजार अनुगमन गर्दै आएको पनि उनले बताए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सोचेजस्तो गरी बजार अनुगमन हुन नसकेको स्वीकार गरे । उनले चाडपर्वमा मात्र नभएर अरुबेला पनि बजार अनुगमन गर्ने बताए ।