विराटनगर । मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदैगएपछि किसानहरु हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् । तराईमा छिटो तयार हुने जातको धान काट्न सुरु भइसकेको छ । धान निकालेपछि खेतमा किसानहरुले हिउँदे तरकारी लगाउँछन् । तर, यस पटक किसानलाई तरकारी खेती गर्न समस्या हुने देखिएको छ । बजारमा तरकारीको बिउ अभाव भएकोले कसरी तरकारी खेती गर्ने भन्ने समस्यामा किसानहरु परेका छन् ।
तराईमा उत्पादन हुने काउली र बन्दा कोभीको बिउको बजारमा पूर्ण अभाव देखिएको छ । नेपालमा विकास गरिएको काउली पहाडी क्षेत्रका लागि मात्र उपयुक्त रहेको र त्यसबाट तराइमा उत्पादन लिन सकिने अवस्था छैन । काउली बाहेक तराईमा हिउँदे खेतिको रुपमा लगाइने मुला, रायो, चम्सुर, धनियाँ, पालक आदि जातका तरकारीको बिउ पनि बजारमा भेटिन छोडेको छ । किसानहरु बिउको खोजीमा दिनहुँ पसलहरु चाहार्दै डिरिहेको दिपिका कृषि केन्द्र विराटनगरका सञ्चालक हरि भट्टराईले जानकारी दिए ।
नेपालमा उत्पादन हुने केही जातका बिउहरु बजारमा उपलब्ध छन् । तर किसानहरु हाइब्रिडमा बानी परेका कारण नेपाली बिउ प्रयोग गर्न रुचाउँदैनन् । कम उत्पादन दिने भएकोले किसानहरु हाइब्रिड बिउतर्फ आकर्षित छन् । तर गएको जेठ महिनायता भारतबाट तरकारीको बिउ आयात भइरहेको छैन । जसले गर्दा हिउँदे तरकारीको बिउको बजारमा अभाव देखिएको हो ।
नेपाल सरकारले बिउ उत्पादनमा आत्मनिर्भर बन्ने र नेपालमै बढी उत्पादन दिने गरी हाइब्रिड बिउ अनुसन्धान गर्ने भन्दै बिउ आयातमा एकीकृत प्रणाली लागु गरेको छ । सरकारले लागु गरेको एकीकृत प्रणालीको असर बजारमा देखिएको हो ।विगतमा राष्ट्रिय बिउ बिजन केन्द्रमा दर्ता भएका कम्पनी तथा फर्महरुले एक प्रतिशत र दर्ता नभएका फर्महरुले ५ प्रतिशत भन्सार महशुल तिरेर भारतबाट बिउ आयात गर्ने गरेका थिए । अहिले ५ प्रतिशत भन्सार महशुल तिरेर बिउ आयात गर्न बन्द गरिएको छ । जसले गर्दा बिउ बिक्री वितरण गर्दै आएका ९० प्रतिशत भन्दा बढी पसलहरुमा हाइब्रिड बिउ भेट्न मुस्किल छ । नेपालमा उत्पादित बिउहरु छन् तर आवश्यकता अनुसार छैनन् । नेपाली बिउप्रति किसानहरु विश्वस्त नहुँदा उनीहरु त्यसको प्रयोग गर्न हिच्किचाइरहेका छन् । यसले हिउँदे तरकारी खेती र उत्पादनमा असर पुग्ने देखिएको छ ।
बजारमा हिउँदे तरकारीको बिउको अभाव देखिएको आंशिक सत्य भएको कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए । सरकारले नेपाललाई बिउमा आत्मनिर्भर बनाउने र नेपालमै उत्पादित बिउको प्रयोगमा जोड दिने नीति कार्यान्वयनमा लगेका कारण बजारमा किसानले खोजेको कम्पनीको बिउ नभेटेको सिंहको भनाइ छ । ‘बजारमा नेपाली बिउको खास अभाव छैन तर किसानहरु हाइब्रिडमा बानी परेका छन् र बढी उत्पादन लिन चाहिरहेका छन् जुन नेपाली बिउबाट त्यो अपेक्षा पूरा गर्न गाह्रो छ,’ सिंहले भने ‘त्यसैले बजारमा बिउ नै नपाइएको होइन विदेशबाट आयात गरिएको हाइब्रिड जातको बिउको चाहिँ अभाव भएको हो ।’
अहिले बजारमा भारतीय कम्पनीले विकास गरेको उन्नत जातको गोलभेडाको बिउको पनि अभाव छ । राष्ट्रिय बिउ बिजन केन्द्रल विकास गरेको हाइब्रिड जातको गोलभेडाको बिउ बजारमा पाइन्छ तर कम उत्पादन हुने भएकोले किसानहरु त्यो बिउ लगाउन मानिरहेका छैनन् ।
भारतबाट उन्नत जातका तरकारीको बिउ आयात ठप्पै भएको भने होइन । सरकारले तोकेको मापदण्ड पूरा गरेर दर्ता भएका केही कम्पनीहरुले भारतबाट तरकारीको बिउ ल्याइरहेका छन् तर त्यसले बजारको मागलाई पूरा गर्न सकेको छैन । जसले गर्दा किसानहरु भारतीय बजारमा गएर आफूखुसी लुकाएर बिउ ल्याउन बाध्य भएका छन् । यसले किसानहरु जोखिममा पर्नसक्ने देखिन्छ ।
तरकारी खेतीको सुरक्षणका लागि बिमा गर्ने सुविधा छ । त्यसका लागि अनुमतिप्राप्त फर्म वा कम्पनीले बिक्री गरेको बिउ किसानले लगाउनु पर्छ । अन्यथा बिमा कम्पनीले बिमा नगरिदिने भएकोले कमसल जातको बिउ पर्ने वा फसल नै नलाग्ने जस्ता समस्या आउन सक्ने जोखिम छ । किसानहरुले जोखिम उठाएरै सीमावर्ती भारतीय बजारबाट हिउँदे तरकारीको बिउ ल्याउन थालेको व्यवसायी हरि भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समय भन्सार कार्यालयले बिउ आयातमा कडाइ गरेको छ । अन्य खाद्यवस्तु ल्याउन सर्वसाधारणलाई सहज बनाइदिएको भएपनि तरकारीको बिउ ल्याउन भने रोक लगाइरहेकोे व्यवसायीहरुले बताएका छन् । तरकारीको मात्र होइन यतिबेला तराईमा खेती गर्ने मुसुरो दालको बिउको पनि बजारमा चरम अभाव देखिएको छ । तोरी, र गहुँको बिउ अभाव भएको नसुनिएको तर तरकारीको बिउ पाइएन भन्ने गुनासो आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताए ।
सुनसरीको झुम्कामा अवस्थित बिउ बिजन गुणस्तर परीक्षण केन्द्रका प्रमुख गोविन्द आचार्यले कोशी प्रदेशमा तरकारीको बिउको अभाव रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो काम बिउको गुणस्तर परीक्षण गर्ने हो, यसको आपूर्ति व्यवस्था ज्ञान केन्द्रहरुले मिलाउँछन् तर बजारमा तरकारीको बिउको अभाव भएको गुनासो हामीले पनि सुनिरहेका छौं । हामीलाई आवश्यक पर्ने सबै जातका तरकारीको बिउ हामीसँग पर्याप्त छैन र अहिले सरकारले आयातमा कडाइ गर्दा समस्या भएको हुनसक्छ ।’
कोशी प्रदेशमा सुनसरीको तरहरा, धनकुटाको पाख्रिबास, झापाको चन्द्रडाँगी आदि कृषि अनुसन्धान केन्द्रले तरकारी, फलफूल र अन्नबालीहरुको अनुसन्धान गरी उन्नत बिउ उत्पादनका लागि काम गर्दै आएका छन् । त्यसबाहेक झापा र सुनसरीमा थुप्रै सहकारी र निजी कम्पनीहरुले पनि बिउ उत्पादनमा काम गरिरहेका छन् । तर किसानको माग र बानी अनुसारको उन्नत जातको बिउ पर्याप्त उत्पादन नहुँदा खेती गर्ने समयमा किसानहरु चारतिर भौतारिनु परेको व्यवसायी हरि भट्टराईले बताए । उनले भने ‘किसानहरु त समस्या परे सँगै हामीजस्ता व्यवसायीहरु जसले बिउ आयात गरेर आपूर्ति गर्दै आएका थियाँैं हाम्रो त व्यवसाय नै बन्द हुने अवस्था भयो ।’
सरकारले बिउ आयातमा कडाइ गर्दै आयात कर्ताले राष्ट्रिय बिउ बिजन केन्द्रमा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि व्यवसायीहरु समस्यामा परेका हुन् । भट्टराईले भने ‘हामी आयातका लागि केन्द्रमा दर्ता हुन तयार छौं तर व्यवस्था यति कडा बनाइएको छ कि एउटा भेराइटी आयात गर्न ९ लाख रुपैयाँ तिर्नु पर्छ जुन क्षमता हामीजस्ता हजारौं फर्महरुसँग छैन ।’ शुल्कलाई सहज बनाएको खण्डमा धेरै फर्महरु दर्तामा जाने अवस्था रहेको उनले बताएका छन् ।