सौम्य नेताको शान्त प्रस्थान

विराटनगर ।मन नपरेका पात्रलाई नामै किटेर अनेकौं लाञ्छना लगाउन नेपाली नेताहरु माहिर छन् । सुवास नेम्वाङ ती सबैभन्दा अलग थिए । उनी पनि असहमति त प्रकट गर्थे तर भद्र रुपमा ।

त्यसैले उनी भन्थे ‘त्यसो भन्ने साथीको अनुहार झलझली सम्झिरहेको छु, नाम चाहिँ बिर्सेँ ।’ उनले यसोभन्दा उनी कसलाई लक्षित गर्दैछन् भन्ने स्रोताले बुझिसकेका हुन्थे । नेपाली राजनीतिमा यसरी आफूलाई भद्र, शालिन र सौम्य छविका साथ स्थापित गराएका उनै नेता नेम्वाङको भौतिक जीवनको समाप्ति पनि उस्तै शान्त रह्यो ।

अघिल्लो दिनसम्म राजनीतिक गतिविधिमा सक्रिय संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको छ । उनी ७१ वर्षका थिए ।कोशी प्रदेशको इलाम जिल्लाबाट प्रतिनिधिसभामा पटक–पटक प्रतिनिधित्व गरेका नेम्वाङ ‘सहमति, सहकार्य र एकता’ का त्यस्ता वकालतकर्ता थिए, त्यही अडानले उनलाई सर्वस्वीकार्य बनाएको थियो ।
२०६३ वैशाख ३० मा उनी पहिलोपटक सभामुख बनेका थिए । दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित संसदमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सभामुखको रोजाइमा नेम्वाङ परे । राजावादी ट्याग लागेका सभामुख तारानाथ रानाभाटलाई राजीनामा गराएर नेम्वाङलाई सभामुख बनाइएको थियो । सभामुखमा नेम्वाङको पहिलो कार्यकाल १ माघ ०६३ सम्म रह्यो ।

त्यो दिन अन्तरिम संविधान जारी भयो । अन्तरिम संविधान जारी भएको तेस्रो दिन अर्थात माघ ३ मा उनी पुनःसर्वसम्मत सभामुख बने । सभामुखको दोस्रो कार्यकाल २०६५ जेठ १४ सम्म रह्यो । अन्तरिम व्यवस्थापिका संसदमा एमाले बराबरको हैसियतमा माओवादीले प्रवेश पाएको थियो । कांग्रेसलाई ८५, एमाले÷माओवादीलाई ८३÷८३ सिट छुट्याइएको थियो ।

अन्तरिम व्यवस्थापिका संसदमा पहिलो दल रहेको कांग्रेसबाट प्रधानमन्त्री रहेको हुँदा एमालेबाट सभामुख स्वीकार्न माओवादी पनि तयार भयो । व्यवस्थापिका–संसदको प्रथम अधिवेशनबाट नेम्वाङ सभामुख सर्वसम्मत बने । त्यसबेला संसदका ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षता गरेका थिए भने नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव माओवादी नेता कृष्णबहादुर महराले गरेका थिए । नेम्वाङलाई निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव संसदमा दर्ता भएपछि उनी निर्विरोध चयन भए ।

तेस्रोपटक सभाध्यक्षका रुपमा नेम्वाङ ०६५ साउन १२ मा सर्वसम्मत बने । राष्ट्रपतिमा उम्मेदवार बनाउँदा एक ठाउँमा उभिएका कांग्रेस–एमाले–तत्कालीन मधेसी जनअधिकार फोरमले सभाध्यक्षमा नेम्वाङलाई अघि सारे । संविधान सभामा रहेका अन्य दलबाट उम्मेदवारी नपरेपछि नेम्वाङ फेरि निर्विरोध चयन भए । ६ फागुन २०७० मा सभामुखका लागि उम्मेदवार दर्ता हुँदा नेम्वाङको मात्रै नाम प¥यो । यसपटक पनि उनी निर्विरोध भए ।२०४८ मा पहिलोपटक राष्ट्रिय सभा सदस्य बनेका उनी २०५१ मा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री र पछि कानुन मन्त्री बनेका थिए । २०५२ मा पनि दोस्रोपटक राष्ट्रिय सभामा चुनिएका उनी २०५६, २०६४, २०७० र २०७४ मा इलामबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पहिलोपटक २०२८–२९ ताका इलाम क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएपछि नेम्वाङले जीवनमा प्रतिष्पर्धा गरे जति कुनै पनि चुनाव हारेका थिएनन् । यसपटक भने राष्ट्रपति निर्वाचनमा उनी काँग्रेसका रामचन्द्र पौडेलसँग पराजित भए । यसका पछि एमाले अध्यक्ष केपी ओलीको इच्छाले मुख्य रुपमा काम गरेको थियो ।

एक दलीय र निरंकुश पञ्चायतविरूद्धको लडाइँमा विद्यार्थीकालमै होमिएका, बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्न काम गरेका, २०६२÷०६३ को आन्दोलनपछि राज्यलाई समावेशी बनाउने अन्तरिम संविधान र संसदमा काम गरेका र सबभन्दा महत्त्वपूर्ण, संविधान सभाबाट जनताको संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका खेलेका जनजाति पुत्र नेम्वाङ आजका समकालीन नेपाली नेताहरूमध्ये राष्ट्रपतिको ओहोदा पुग्न निःसन्देह सबभन्दा सुयोग्य पात्रमध्येका थिए । र, उनमा त्यसका लागि स्वाभाविक आकांक्षा पनि थियो ।
नेम्वाङलाई राष्ट्रपति बनाउन सुरूमा ओलीले नै अनिच्छा देखाएको एमालेका नेता बताउँछन् । सुरूमै नेम्वाङलाई प्रस्ताव गरेको भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लचिलो बन्ने सम्भावना थियो । नेम्वाङको भद्र व्यक्तित्वबाट प्रचण्ड पनि प्रभावित नै थिए । अन्य दलहरु पनि उनीप्रति सकारात्मक हुनसक्थे ।

तर, अध्यक्ष ओलीले उनीभन्दा जुनियर नेताको नाम प्रस्ताव गरेपछि परिस्थिति बिग्रिन थाल्यो । एमालेसँगको सहकार्य टुटाएर प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि राष्ट्रपति बन्ने नेम्वाङको चाहनामा ब्रेक लाग्यो । मुलुकले जनजातिको एउटा सुयोग्य पात्रलाई त्यो कुर्सीमा पु¥याउन सकेन ।

नेम्वाङलाई आफ्नो जीवनकालमा ‘हिन्दु धर्म विरोधी’को आरोप लाग्यो । उनी त्यसलाई चिर्न चाहन्थे । नेपाललाई समावेशी र धर्मनिरपेक्ष मुलुकका रुपमा उभ्याउन उनको भूमिका महत्वपूर्ण रहेको भन्दै नेताहरुले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
निधन हुनुभन्दा तीन दिनअघि गत भदौ २३ गते नेम्वाङ धरानमा थिए । पार्टी निकट युवा संघ नेपालको कोशी प्रदेश सम्मेलनमा उनले दिएको मन्तव्य नै जीवनको अन्तिम सार्वजनिक मन्तब्य बन्यो ।

कार्यक्रममा सरकार, शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका विषयमा निकै भावुक सम्बोधन गरेका नेम्बाङले आफूलाई हतारो रहेको उल्लेख गरेका थिए । धरानबाट फर्किएपछि ज्वरो आएर बिरामी भएका उनलाई राति परिवारले शौचालयमा बेहोस अवस्थामा फेला पारेपछि अस्पताल लगेको भएपनि उनको मृत्यु भइसकेको थियो ।

नेम्बाङ धरानमा रहँदा कोशी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रमस्थल बाहिर प्रदर्शनसमेत गरेका थिए । त्यसलाई लक्षित गर्दै उनले ढुंगामुढा गरेरमात्रै पहिचान प्राप्त नहुने बताएका थिए । उनले भनेका थिए, ‘हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो ?’

एमाले पहिचानवादी पार्टी भएको दावी गर्दै उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको जिकिर गरेका थिए । फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू भएकोले यस्तो काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न नमिल्ने उनको दावी थियो ।

उनले संसदलाई सुचारु गर्ने र धेरै कम गर्नुपर्ने बताएका थिए । ‘संसद् कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद् चलाउनका लागि काठमाडौँ पुग्नुपर्छ’ उनले भनेका थिए, ‘हामी जिम्मेवार प्रतिपक्षी भएनौँ भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद् चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ ।’

सम्बोधनका संसदीय समितिको प्रसङ्ग समेत निकालेर उनले संसदको काम प्रभावकारी नभएकोप्रति चिन्ता जनाएका थिए । उनले आफ्नै नेतृत्वमा जारी भएको संविधानको पटक–पटक स्मरण गरेका थिए । कार्यक्रममा निकट रहेको असोज ३ अर्थात् संविधान दिवसको स्मरण गरेका उनले भनेका थिए– ‘असोज ३ निकट आएकाले मैले यो कुरा भन्नैपर्छ ।’

बुधबार, २७ भदौ, २०८०, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर