सर्वसाधारणले तिर्न नसक्ने गरी कर बढाएको भन्दै आन्दोलन

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले कर बढाएको भन्दै आन्दोलन सुरु भएको छ । नगरपालिका स्थित राजनीतिक दल, संघ संस्था उद्योगी व्यापारीहरूले संयुक्तरूपमा आन्दोलन गरिरहेका छन् । सर्वसाधारणले तिर्न नसक्ने गरी निर्धारण गरिएको करलाई पुनरावलोकन गर्न माग राख्दै चरण बद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर राजनीतिक दल तथा संघ संस्थाहरूले आन्दोलन गरिरहेका हुन ।
‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नारा सहित उनीहरूले आन्दोलन गरिरहेका छन् ।

पहिलाकै अवस्थामा करलाई ल्याउन उनीहरूले अनुरोध गरेका छन् । नगरपालिकाले नगरवासीको वास्तविकता नबुझी कर बढाएकाले आन्दोलन गर्न बाध्य हुनु परेको उद्योग वाणिज्य संघ सुन्दरहरैँचाका अध्यक्ष समेत रहेका इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईँले बताए । उनले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगर सभाबाट आव २०८०/८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको भन्दै एमाले बाहेकका दलले आन्दोलन गरिरहेका छन् । गत निर्वाचनमा सुन्दरहरैँचामा एमालेले मेयर उपमेयर सहित बहुमत जितेको थियो । जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगर स्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ नगरपालिकाले ध्यान नदिएको सुन्दरहरैँचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकालको आरोप रहेको छ ।

जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउनुको सट्टा नगरपालिकाले राजश्व बढाउने नाममा जनताको ढाड सेक्ने गरी कर बढाएको एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यको आरोप छ । ।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले जग्गाको वर्गीकरण गर्ने क्रममा सामान्य कर बढेको बताए । कर पुनः विचार गर्न सकिने समेत बताएका छन् ।

बिहिबार, १४ भदौ, २०८०, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर