विराटनगर । इन्टरनेट प्रदायक संस्था वल्र्डलिंकको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल निःशुल्क देखाउने भएको छ ।
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु अतिथि सदन नजिकको खाली जग्गामा देखाउने भएको हो ।नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।
नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ । एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।