विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए ।
‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘अहिले पनि मानेको छैन । तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’
गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाएका छन् । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे-जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए ।
उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ । देशको आर्थिक विकास गर्नका लागि दलहरु मिल्नु पर्ने समेत उनले बताएका छन् ।
सरकारले गिरीबन्धु टि स्टेटको कुरा निकालेर सरकारले चिल आयो चिल आयो भनेर कुखुरा चोर्ने काम मात्रै गरीरहेको बताएका छन ।