विराटनगर । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउँदै निर्यातलाई निरुत्साहित गरेको केही समयभित्रै चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।प्याजमा चर्को निर्यात कर लगाएपछि भारतबाट नेपाली व्यवसायीहरुले प्याज आयात गरेका छैनन् । जसले बजारमा प्याजको अभाव देखिन थालेको छ भने मूल्य पनि अस्वभाविक ढंगले बढेको छ ।
प्याजको मूल्यवृद्धिको माग खेपेका नेपाली उपभोक्ताहरुले भारत सरकारको अर्को निर्णयले महंगीको थप मारमा पार्ने देखिएको छ । भारत सरकारले वर्षा नहुँदा उखुको उत्पादन घटेको कारण देखाउँदै ७ वर्षपछि पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न मिलहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।
भारतले आन्तरिक माग पूर्ति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । उसले आन्तरिक आपूर्ति सहज गर्न आवश्यक उखुबाट चिनी उत्पादन गर्ने र बाँकी उखुबाट इथानोल उत्पादन गर्ने तयारी गरेपछि चिनी निर्यात गर्ने उसको नीतिमा आमुल परिवर्तन गर्ने भएको हो ।
आगामी सिजनको लागि निर्यात कोटाका लागि छुट्याउने पर्याप्त चिनी भारतसँग नभएको भारतीय अधिकारीहरुले बताएका छन् । विश्व बजारमा चिनी निर्यात गर्दै आएको भारतले निर्यात नगर्ने नीति कार्यान्वयनमा गए अमेरिका र बेलायतमासमेत चिनीको अभाव देखापर्ने सम्भावना छ । नेपालमा पनि मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
चिनी निर्यात प्रतिबन्धले विश्वव्यापी खाद्यान्न बजारहरुमा थप मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ । भारतले गएको सिजनमा एक करोड ११ लाख मेट्रिक टन चिनी निर्यात गरेको थियो । चालु सिजनमा (सेप्टेम्बर ३० सम्म) भने मिलहरुलाई ६१ लाख टन मात्र चिनी निर्यात गर्न अनुमति दिएको थियो । यसअघि, सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २० प्रतिशत कर लगाएको थियो ।
भारतको पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका उच्च उखु उत्पादन गर्ने जिल्लाहरुमा मनसुनी वर्षा यस वर्ष औसतभन्दा ५० प्रतिशत कम भएकोले उत्पादनमा पनि प्रभाव पर्ने देखिएको छ । यी दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । मनसुनी प्रभावका कारण आगामी वर्ष भारतको चिनी उत्पादन ३.३ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसैबीच भारतमा स्थानीय चिनीको मूल्य अधिक बढेको छ । चिनीको मूल्य दुई वर्ष अघिको भन्दा उच्च भएको हो । बजारमा मूल्य बढेसँगै सरकारले बजारमा थप २ लाख टन चिनी पठाउन अनुमति दिएको छ ।
यसअघि भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छे । अहिले प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ पुगेको छ । यसअघि नेपालमा प्याज प्रतिकिलो ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गर्दै आएका थिए ।
भारतले आगामी डिसेम्बरको अन्त्यसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको जानकारी दिएको छ । भारतले विश्व बजारमा ठूलो परिमाणमा प्याज निर्यात गर्दै आएको छ । प्याजको उत्पादनमा कमी आएको भन्दै भारतले निर्यातमा कर लगाएको हो ।