शिशु प्रकरणले निम्त्याएको त्रास

 सम्पादकीय

अस्पताल विरामीका लागि अन्तिम आशाको केन्द्र हुन्छ भने विरामीका लागि चिकित्सक भगवान सरह हुन्छन् । तर, विरामीले भगवान नै ठान्ने तिनै चिकित्सकहरु आपराधिक गतिविधिमा संलग्न रहेका खबरले धेरैलाई खिन्न बनाउँछन् । यस्ता घटनाले विरामीको सेवामा रातदिन खटिने चिकित्सकहरुलाई पनि आहात पार्ने गर्छ । जुनसुकै पेशा व्यवसायमा पनि नराम्राहरुले गर्ने गल्तीले राम्रो काम गरिरहेकाहरुलाई पनि असर गर्छ । विराटनगरमा शिशु किनबेच प्रकरणमा चिकित्सक नै मुछिएको घटना स्वास्थ्य क्षेत्रको एउटा कलंकित घटना हो । यस्ता गतिविधि कसरी र कुन रुपमा भइरहेका छन् भन्ने मिहिन रुपमा अनुसन्धान हुन जरुरी छ । ग्रीनक्रस अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण जुन अभियोगमा पक्राउ परेका छन्, त्यो गम्भीर छ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएकी नवजात शिशु चिकित्सकले नै बेचेको खुलासा भएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो । प्रहरीका अनुसार असार १३ मा अविवाहित युवतीले अस्पतालमा जन्माएकी शिशु मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई ५ लाखमा बेचिएको थियो । के विराटनगरमा यसरी शिशु बेचबिखन भएको पहिलो घटना हो ? यस्तै घटना यसअघि पनि भएको थियो कि थिएन ? यही घटना अब अन्तिम बन्ने सम्भावना छ ? यी र यस्ता धेरै प्रश्नहरु जन्माएको यो घटनाले तथ्यपूर्ण छानबिनको माग गर्दछ । प्रहरीले यसबारे आफ्नो सम्पूर्ण क्षमता लगाएर रहस्य सुल्झाउने प्रयास गर्नुपर्छ ।

यसै पनि मानव बेचबिखन गम्भीर अपराध हो । यस्तो गम्भीर मुद्दामा चिकित्सक स्वयम् संलग्न रहने अवस्था दुःखद् हो । यसअघि पनि यस्तो धन्दा उनीबाट हुने गरेको आरोप र गुनासो आएको प्रहरी भनाइले पनि डा. कर्णको पेशागत निष्ठा र इमान्दारीमा प्रशस्त शंका उब्जाउँछ । यसरी चिकित्सकसँग आम विरामी डराउनु पर्ने अवस्था डरलाग्दो परिस्थिति हो । यसर्थ पनि यो घटनालाई प्रहरीले अति नै संवेदनशील रुपमा लिनुपर्ने खाँचो छ ।

शिशु किनबेचको घटना हुनुको पछाडि सुत्केरी युवती र उनका प्रेमी गोविन्द राईबीचको नाता पनि मुख्य कारण देखिन्छ । नातेदार उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भयो । जसै प्रेम सम्बन्ध झाँगिदै गयो, उनीहरुबीच शारिरीक सम्बन्ध पनि भयो । युवतीको गर्भ रह्यो, अनिच्छित रुपमै भए पनि उनीहरु सन्तान जन्माउन बाध्य भए । उनीहरुको यही बाध्यतामा डा. कर्णलगायतका अभियुक्तले खेलेको देखिन्छ । हाडनाता सम्बन्धको संवेदनशीलता, प्रजनन स्वास्थ्यबारे राम्रो जानकारी राख्न सकेको भए सम्भवतः शिशु किनबेच प्रकरण नहुन सक्थ्यो ।

बिहिबार, ०७ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर