विराटनगर । मेची बहुउद्देश्यीय सहकारी संस्था बेलबारी सेवा कार्यालयले आर्थिक वर्ष २०७९।०८०मा बेलबारीका २२ जना सेयर सदस्यलाई १ लाख ७७ हजार रुपैयाँ भन्दा बढीको सुविधा प्रदान गरेको छ । सेवा कार्यालयले २०७९ साउन देखि २०८० असार मसान्तसम्मको अवधिमा सो सुविधा वितरण गरेको जनाएको छ ।
मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औ वार्षिकोत्सव तथा २९औँ साधारण सभा अन्तरगत बेलबारीमा आयोजित बेलबारी सेवा कार्यालय स्तरको साधारण सभामा सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक सन्तोष कुमार राईले जानकारी दिएका हुन ।
बेलबारी सेवा कार्यालय अन्तरगतको वित्तीय अवस्था तथा गतिविधिबारे साधारण सभामा जानकारी गराउँदै सो अवधिमा सेवा कार्यालयले २ करोड १ लाख रुपैयाँ कर्जा बेलबारी क्षेत्रका सेयर सदस्यहरूमा लगानी गरेको पनि जानकारी गराइको छ । बेलबारी सेवा कार्यालयको बचत निक्षेप रकमसाथै संस्थाको प्रधान कार्यालयबाट समेत रकम लिएर सदस्य व्यवसायीहरूमा लगानी गरिएको राईले जानकारी दिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बेलबारी सेवा कार्यालयको लगानी वृद्धिमा विगतदेखि प्रधान कार्यालयले रकम दिएको र यो आर्थिक वर्षमा सेवा कार्यालयको आम्दानी वृद्धि गर्न अब करिब १ करोड रकम प्रधान कार्यालयले बेलबारी सेवा कार्यालयलाई लगानीका लागि उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।
बेलबारी सेवा कार्यालयका अनुसार गत आवमा बेलबारीका १ जना सेयर सदस्यले क्यान्सर अप्रेसन बापतको रु ५० हजार सुविधा लिएका थिए । यस्तै १ जना सेयर सदस्यले पसलमा आगलागी भएपछि राहत स्वरूप ४० हजार सुविधा लिएका थिए । यस्तै शल्यक्रिया बापतको रु ७ हजार ५ सय सुविधा ८ जनाले लिएका थिए ।
यस्तै साधारण सभामा न ३ जना सेयर सदस्यलाई शल्यक्रियाबापतको सुविधा जनही ७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा प्लस टुमा उत्कृष्ट हुने सेयर सदस्यका छोरा हेनिस सुवेदीलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट बाल बचत कर्ता साइरा राई तथा बचतकर्ताहरू मिना उप्रेती,मधु राई र उमेशकुमार ठाकुरलाई पनि पुरस्कृत गरिएको थियो । बेलबारी सेवा कार्यालय अन्तरत गत आर्थिक वर्षमा ४ सय ३४ जना सेयर सदस्य रहेका थिए भने बचत निक्षेप १ करोड ९७ लाख रुपैयाँ रहेको थियो । यो आर्थिक वर्षमा २ सय सेयर सदस्य थप्ने सेवा कार्यालयको लक्ष्य रहेको सेवा कार्यालयले जानकारी दिएको छ ।
गत बर्ष रास्ट्रीय सहकारी महासङ्घ बाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार पाएको मेची सहकारीले यश बर्ष कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यलयले प्रदान गर्ने सुसासनमा चल्ने बहुउद्देश्यीय सहकारीका रुपमा कोशी प्रदेश कै उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरेको हो ।