विराटनगर । कोशी प्रदेशको नेकपा (एमाले) संसदीय दलका उपनेता राम राना मगरले ‘एमाले अब चुप लागेर बस्ने’ बताएका छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धब थापाले प्रदेशसभा संचालन गरिरहेको बेला सभाध्यक्ष इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएर पारित भयो नि भन्ने प्रश्नमा रानाले यस्तो बताएका हुन् ।
उनलाई एमाले अब अदालत जान्छ कि के गर्छ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘अदालतको चानचुने कुरा भयो । अहिलेलाई ४७ भइगयो माओवादी, काँग्रेसको बहुमत पुग्यो । त्यसैले एमालेले रमित मात्रै हेर्न भन्ने छ । समाजवादको आधार बल्ल खडा भयो त्यसकारण रमिता हेर्ने ।’ उनले अब समाजवादको आधार खडा भएको भन्दै व्यंग्यात्मक शैलीमा थप आक्रोश व्यक्त गरे ।
‘समाजवादको आधार खडा भएकोले एमाले अब रमिता हेर्छ भनेर मेरो तर्फबाट तपाईले लेखिदिनुहोला । यो मुद्दा मामिला भनेको प्राविधिक कुरा हुन् । राज्य बनाउने भनेको सिद्धान्तले होइन । सिद्धान्तले राज्य बनाउँछु भनेको हो भने समाजवादको आधार खडा भयो । यसलाई माओवादीले लागू गर्छ, एमालेले रमित हेरेर बस्छ । अहिलेलाई मेरो तर्फबाट यति नै ।’
उता, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक कुरा जोडिएकोले भोली परामर्श गरेर मात्रै के गर्ने भन्ने विषय सार्वजनिक गर्ने बताए । ‘संविधानको ठाडो उल्लंघन भएको छ । अदालत त जान्छौं नै । त्यसमा परामर्श गरेर सोचि विचारी भन्छौं,’ कार्कीले भने ।