तिम्सिनाले गरिन् प्रदेशसभाको आधा मिनेट अध्यक्षता

प्रदेशसभाका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले सभामुखको कुर्सीमा अध्यक्ष मण्डलकी अर्का सदस्य गीता तिम्सिनालाई बोलाएर मुख्यमन्त्रीलाई दिए मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत पाएका छन् । उनले पाएको विश्वासको मत विवादरहित भने छैन । नेकपा एमालेले विश्वासको मत फेल गराउँदै गठबन्धनको नेतृत्वमा बनेको सरकार ढाल्न उपसभामुख र ९ जना जेष्ठ सांसदलाई आजको प्रदेशसभामा अनुपस्थित गराएको थियो ।

त्यसका बाबजुद उपसभामुख सिर्जना दनुवारले सभाध्यक्षको जिम्मेवारी दिएका मन्सुरीले नै मुख्यमन्त्री थापालाई विश्वासको मत दिलाउँदै नयाँ अभ्यास गराएका हुन् । सबैले मतदान गरिसकेपछि मत सच्याउन सभामुखको आसनबाट मन्सुरीले ५ मिनेटको समय दिए र घण्टी बज्यो । उक्त समय सकिने वित्तिकै उनले सभाध्यक्षको आसन ग्रहण गर्न अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिनालाई जिम्मेवारी दिए ।

मन्सुरीले तिम्सिनालाई सभामुखको कुर्सीमा बस्न दिएको १ मिनेट १० सेकेण्डमा मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेर पुनः सभाध्यक्षको कुर्सीमा गएका थिए । त्यसपछि तिम्सिना भने सत्तापक्षको कुर्सीमा फर्किन् ।

सभाध्यक्षको कुर्सीमा तिम्सिना बस्न केही हडबडाएजस्तो भएकी थिइन् । लगत्तै एमालेका सांसदहरुले मन्सुरीलाई मत दिने अवरोध गर्ने कोशीस गरे । त्यसलाई मर्यादा पालकले छेकेका थिए भने सत्ता पक्षका सांसदहरुले सघाएका थिए । विपक्षीको ‘रो’मा प्रस्तावको विपक्षमा मतदान गर्ने व्यवस्था गरिएको थियो भने सत्ता पक्षको ‘रो’मा प्रस्तावको समर्थनमा मतदान गर्ने व्यवस्था थियो ।

१ मिनेट १० सेकेण्डको समयपछि पनि एमालेले लगातार अवरोध र नाराबाजी गरिरहयो । तर, केही समयपछि मुख्यमन्त्रीले विश्वासको मत पारित भएको घोषणा गरियो ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।

पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम थियो । तर, उनले त्यसअ अगाडि नै विश्वासको मत कायम गरेका छन् । प्रदेशसभाको अर्को बैठक भदौ ६ गतेका लागि बोलाइएको छ ।

सोमबार, ०४ भदौ, २०८०, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर