‘उपसभामुखबाट असंसदीय व्यवहार भयो’

विराटनगर । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभा बैठक सञ्चालन गर्ने दायित्वबाट पन्छिएर उपसभामुखले संसदीय मूल्य विपरित काम गरेको टिप्पणी गरेका छन् ।

गठबन्धनका सांसदहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले उपसभामुखले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह नगरेर गम्भीर भूल गरेको बताएका हुन् । उनले भने ‘उपसभामुखले सदनको बैठक छल्ने जे काम गर्नुभएको छ यो गम्भीर भूल गर्नुभएको छ र यो संसदीय मूल्य, मान्यता विपरीत हो ।’

आफूले विपक्षी दलसँगसमेत परामर्श र सहमति गरेर विश्वासको मत लिने तयारी गरेको भएपनि उपसभामुखले बैठक सञ्चालन नगरेका कारण आज विश्वासको मत लिन सक्ने अवस्था नरहेको भन्दै आजको प्रदेशसभा बैठक स्थगित हुनसक्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो ‘आज विश्वासको मत लिने प्रस्तावमा छलफल हुने सम्भावनान छैन, यो बैठक स्थगित गरेर अर्को कुनै दिन विश्वासको मत लिन्छु ।’ उनले विश्वासको मत लिने पर्याप्त सम्भावना रहेको र प्रसस्त विकल्पहरु रहेको पनि बताएका छन् ।

उपसभामुख सिर्जना दनुवारको पछिल्लो भूमिकाप्रति असन्तुष्टि जनाएका मुख्यमन्त्री थापाले संवैधानिक, कानुनी, संसदीय सबै प्रकारको लडाईँ सुरु भएको पनि बताए ।

विपक्षी दलसँग बजेट प्रतिस्थापनका विषयमा एक प्रकारको सहमति बनाएपछि बैठक सहजरुपमा सञ्चालन हुने अपेक्षा गरेपनि नेकपा एमालेको भनाइ र गराइमा फरक परेको मुख्यमन्त्री थापाले बताए । उनले भने ‘छलफलमा एमालेले अध्यादेश मार्फत ल्याएको बजेटको ८५ प्रतिशत अंशमा फेरबदल नगर्ने र १५ प्रतिशतजति कार्यक्रमहरु मात्र चलाउने सहमति भएको थियो, तर उहाँहरु सहमति विपरीत जानुभयो, एउटा कुरा भन्ने अर्कै गर्ने काम भयो ।’
मुख्यमन्त्री थापाले फेरि केही बेरमा गठबन्धन दलको बैठक बसेर अगाडि बढ्ने बाटो तय गर्ने बताएका छन् ।

सोमबार, ०४ भदौ, २०८०, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर