धरान । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगीको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगी संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा मानिसमा डेंगी संक्रमण पुष्टि भएको उनले बताए । हालसम्म धरानमा डेंगुका कारण ११ जनाको मृत्यु भएको छ ।
धरानमा डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगीका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।