विराटनगर । धनकुटा नगरपालिका ७ मा गोलभेडा खेती गरिरहेका किसान मातृका राईलाई टमाटरको मूल्य उच्च हुँदा खुसी दिएको छ । तर खुसीसँगै उनलाई रोगका कारण टमाटरको बोट नै मरेपछि भने दुःखी बनाएको छ ।
उनले १५ रोपनी जग्गामा टमाटर खेती गरेका थिए । ‘तर, अहिले १ रोपनीमा मात्रै बचेको छ । अरु सबै रोगले मर्याे,’ उनले सुनाए । बचेको गोलभेडाको मूल्य आफूले खेती गरेको इतिहासमै सबैभन्दा धेरै पाएको उनको अनुभव छ । ‘टमाटरको मूल्य राम्रो छ । ११० रुपैयाँ प्रतिकिलोसम्म विक्री भइरहेको छ । अघिल्लो वर्ष यो समयमा ४० रुपैयाँ प्रतिकिलो थियो,’ उनले सुनाए ।
तर, धनकुटाका अधिकांश किसानले लगाएको टमाटर खेतीमा रोगले भने समस्यामा पारेको उनको भनाइ छ । ‘मूल्य त इतिहासकै धेरै हो भन्ने मैले पनि बुझेको छु,’ उनी सुनाउँछन् । ०६३ सालदेखि नियमित खेती गरिरहेका उनले यो सिजनमा अधिकतम ७५ रुपैयाँ प्रतिकिलोसम्ममा मात्रै विक्री गरेका थिए । तर, अहिले ११० रुपैयाँसम्ममा विक्री गरे ।धनकुटा ४ कै अगम राईले भने यो सिजनमा टमाटर निकाल्न सकेनन् । एक महिना अगाडि नै उनले टमाटर विक्री गरिसके । त्यसबेला सबैभन्दा न्यून मूल्य पाएको उनको भनाइ छ ।
‘कुनै सिजन ४ रुपैयाँ पनि नबिक्ने कुनै सिजनमा सय रुपैयाँमा पनि नपाउने अवस्था छ । यस्तो भएको कारण जेठमा टमाटर निकालेका किसानले १० रुपैयाँसम्मले पनि विक्री गर्न पाएनन् । तर, पछिल्लो सिजनमा निकाल्नेले राम्रो मूल्य पाएका छन्,’ उनले सुनाए । आजभन्दा ५, ७ वर्ष अगाडिसम्म लटरम्मै टमाटर फल्थ्यो । तर, आजकाल टमाटर पाक्न थालेपछि रोगले भेट्टाउने गरेको छ । ‘बेच्ने बेलामा फलले काम दिइरहेको छैन,’ उनले भने, ‘यो के कारणले भइरहेको छ भन्ने कुरा पहिचान हुन सकेकै छैन ।’
कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले पनि समस्याको पहिचान नभएको उनले बताए । ‘माटो बिग्रिएको हो कि भन्ने विषयमा पनि हामीले परीक्षण गर्यौं । तर, त्यस्तो देखिएन । नयाँ माटोमा पनि उही समस्या देखियो,’ अगमले भने ।धनकुटाको धेरैजसो उत्पादित टमाटर निर्यात धरास्थित कृषि बजारबाटै हुने गरेको छ । कृषि बजार व्यवस्थापन समिति, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले पनि टमाटरको मूल्य इतिहासमै उच्च भएको आफूले पाएको बताए । धनकुटाको टमाटर यो सिजनमा उक्त बजारमा दैनिक सरदर ३० टन आउँछ ।
‘धरान कृषि बजारमा टमाटरको होलसेल मूल्य बुधबार १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भयो । टमाटरको यो मूल्य इतिहासमै पहिलो पटक हो । यो भन्दा अगाडि १ सय रुपैयाँसम्म वर्षा सिजनमा पुग्थ्यो । तर, अहिलेको मूल्य १४० रुपैयाँसम्म पुगेको नयाँ रेकर्ड हो,’ भट्टराईले सुनाए ।
टमाटरको मूल्य अत्यधिक हुनुमा माग धेरै भएको उनको दाबी छ । त्यही अनुसार टमाटर लिन धरान, इटहरी, विराटनगर, दमक, विर्तामोबाट जाने व्यापारीको चाप धेरै छ । अहिले नै टमाटरको मूल्य बढ्नुको कारण के हो भन्ने प्रश्नमा भट्टराईले भने, ‘यो सिजन पहिले पनि महँगो नै हुने सिजन हो । अर्को कुरा एक महिना अगाडि टमाटर नबिकेर किसानले रोडमा फाल्नु पर्ने अवस्था आएपछि कम खेती भयो । अर्को कुरा भारततिर पनि टमाटर गइरहेको कारण मूल्य वृद्धि भएको देखिन्छ ।’
उनको अनुभवमा धनकुटामा रोग लागेकै कारण टमाटरको उत्पादन भने कम भएको छैन । ‘त्यति धेरै महामारी भएको जस्तो लाग्दैन । विगतमा आउने भन्दा टमाटर आयात घटेको छैन,’ उनले भने । उनले किसानले एक महिना अगाडि विक्री नभएर टमाटर रोडमा फाल्दा कसैले क्षतिपूर्ति नदिको स्मरण गर्दै अहिले उच्च मूल्य किसानले पाउनु राम्रो भएको प्रतिक्रिया दिए । ‘सँधै मूल्य पाइरहने वातावरण बनाएदेखि किसानलाई प्रोत्साहन मिल्ने थियो,’ उनले भने ।
दुई साताअघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य बढेर अहिले विराटनगरमा खुद्रा मूल्य १४० देखि २ सय रुपैयाँसम्म पुगेको व्यापारीहरुले बताएका छन् ।केही समय अघि नेपालमा भारतीय टमाटर खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए । नेपाली किसानले टमाटरको भाउ नपाएको भन्दै विरोध जनाएपछि सरकारले भारतबाट हुने आयातमा कडाइ गरेको थियो । त्यसको एक महिना पनि बित्न नपाउँदै भारतमा टमाटरको अभाव सिर्जना भई पश्चिम बंगाल क्षेत्रमा प्रतिकिलो २०० रुपैयाँ भारुमा बिक्री हुनथाल्यो ।
टमाटरको अभाव भएपछि भारतले पनि आयातमा लगाउँदै आएको प्रतिबन्ध खुला गरेको छ । भारतले आयात खुला गरेपछि नेपाली किसानले उत्पादन गरेको ठूलो परिमाणमा गोलभेडा दैनिक भारत निर्यात भइरहेको छ । धनकुटा, तेह्रथुम आदि जिल्लाका किसानले उत्पादन गरेको टमाटर अहिले प्रतिकिलो ११० रुपैयाँले बिक्री गरिरहेको विराटनगरका तरकारी व्यवसायीहरुले बताएका छन् ।
लामो समयदेखि विराटनगरको गुद्री बजार सञ्चालक समितिमा आवद्ध भएका गुड्डु मियाँका अनुसार अहिले किसानहरुले टमाटरको पर्याप्त मूल्य पाइरहेको र भारततर्फ निर्यात हुँदा नेपाली उपभोक्ताले भने महँगोमा उपभोग गर्नु परेको बताएका छन् ।अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई टमाटर बिक्री गर्ने गरेका छन् । गुड्डु मियाँ भन्छन् ‘पहिले २० हजारको टमाटरले पिकअप भरिने गरेको थियो अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।’ धनकुटाको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान, इलाम, पाँचथर तथा भोजपुरका कतिपय ठाउँमा टमाटर खेती हुने गरेको छ ।