विराटनगर ।काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र्र खनालको अर्को ठगी गरेको फेला परेको छ । खनाल र उनका छोरा विशाल खनाल यसअघि नै वल्र्ड टे«ड क्न्स्ट्रक्सन कम्पनीका संचालक पशुपति बराललाई ४५ लाख ठगी गरेको आरोपमा पक्राउ परिसकेका छन् ।
उनी पक्राउ परेसँगै ठगीका अन्य काण्ड पनि बाहिरिएको हो । खनालले प्यूठानकी सरिता केसीबाट पनि थप ३२ लाख ७० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । प्युठान स्वर्गद्वारी नगरपालिका ५ की केसीलाई खनालले जेलमा रहेका पतिको मुद्दा मिलाउन न्यायाधीशलाई घुस दिनुपर्ने भन्दै ३२ लाख ७० हजार लिएका हुन् ।
‘राजेन्द्र खनालका बाबुछोराबाटै म ठगीमा परें,’ केसीले कुराकानीका क्रममा भनिन्, ‘गत साउन ४ गते चेक काटेर मैले दिएको हुँ । त्यसपछि उल्टो मुद्दा हालेर मलाई तनाव दियो ।’
खनालले पैसा नलगेको भन्दै धम्क्याउने गरेको उनले सुनाइन् । ‘पैसा कहिले लगेको हो ? भनेर धम्क्याउन थालेपछि मैले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएँ । त्यसपछि राजेन्द्र खनालको छोरा विशाल खनालले २५ लाख ७० हजारको चेक दिएको छ । तर, चेकबाउन्स भएपछि मैले चेक अनादरमा मुद्दा दर्ता गरेर उसको सम्पत्ति रोक्का गरेको छु,’ केसीले भनिन् ।
उनले आफ्नो पतिविरुद्ध अदालतमा मुद्दा रहेको र सोही मुद्दा मिलाइदिन्छु भनेर पैसा लगेको दाबी पनि गरिन् । ‘मेरो श्रीमान्को मुद्दा मिलाइदिन्छु भनेर पैसा लगेको हो । ठूलो न्यायाधीश छ । हाम्रो पावरफूल मान्छेहरुसँग संगत छ भन्यो ।’ खनालले केसीसँग एमालेका सचिव गोकर्ण विष्टको पनि हवला दिएको थियो । खनालले आफूसँग पैसा लिँदा गोकर्ण विष्टका दाइको छोरा सूर्य विष्टपनि साथमै रहेको दाबी गरिन् । ‘म आफैं सांसद हुँ भन्थ्यो । १७ लाख ५० हजार मुद्दा मिलाइदिने भनेर लगेको हो । १० लाखचाहिँ पारिवारजस्तो सम्बन्ध भएका कारण आवश्यक भनेपछि लगेको हो । मलाई अमेरिका पठाउँछु भनेर ६ लाखलियो,’ उनले भनिन् ।
खनालले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गरेका थिए । उनले आफ्नो संस्थाको सल्लाहकारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई संरक्षकको रुपमा उल्लेख गरेका छन् ।खनाल अध्यक्ष रहेको अमरदीप सोसियल अर्गनाइजेसनको लेटरहेडमा संरक्षकमा ‘अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड)’ राखिएको पाइएको हो । उनै खनालले प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको र अन्य नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।
खनालसहित इन्दिरा लामिछानेले यस्तो गरेको पीडितको भनाइ छ । लामिछाने भने अहिलेसम्म फरार छिन् । प्रहरीले लामिछानेलाई पनि पक्राउपूर्जी जारी गरिसकेको छ । पीडित भनिएका वल्र्ड टे«ड कन्स्ट्रक्सन कम्पनीका संचालक पशुपति बरालले आफ्नो नाममा रहेको झापा दमक ३ स्थित ताराबारी डिपोमा करिब ४ विघा जग्गामा रहेको अस्फाल्ट क्रस उद्योगसँग पटकपटक गरेर ४५ लाख लगेको बताए ।खनालले लगेको बरालको ना ४ च ८६७० नम्बरको स्कारपियो गाडी भने काठमाडौंबाट प्रहरीले बरामद गरेको छ । उक्त गाडी भेटिएको बरालले बताए । ‘गाडीका पार्टपूर्जा कामनलाग्ने अवस्थामा भेटिएको छ,’ बरालले भने ।