विराटनगर । अनेकौं समस्यासँग जुझिरहेको उद्योग व्यवसाय क्षेत्रका लगानीकर्ताहरुलाई सरकारले नै दुःख दिँदा लगानीकर्ता पलायनको जोखिम हुने तर्फ विराटनगरका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार उद्योग संगठन मोरङले विराटनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर उद्योगीहरुलाई पलायन गर्ने ढंगबाट सरकारले व्यवहार गरिरहेको टिप्पणी गरेका हुन् ।
सरकारले ललिता निवास जग्गा घोटला काण्ड, सुन तस्करी काण्ड लगायत विभिन्न भ्रष्टाचार र राजश्व छलीका घटनामा छानविन गर्दा उद्योगी व्यवसायीहरुलाई पनि पक्राउ गर्ने र थुन्ने जस्ता काम गरिरहेको तर्फ उनीहरुले सरकारलाई प्रश्न गरेका छन् । उद्योगी व्यवसायीहरुको लगानीको वास्तविकता सुन्नु भन्दा थुन्ने तर्फ सरकारी संयन्त्रहरु उद्यत रहेको भन्दै उनीहले पहिले वास्तविकता सुन्नु पर्ने र अपराधमा संलग्न भएमा मात्र थुन्ने तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् । उनीहरुले अहिले कुरा सुन्ने भन्दा पनि पहिले थुनेर मात्र सुन्ने संस्कृतिको विकास गर्न खोजिएकोमा असहमति जनाए ।
संगठनले ‘थुन्ने कि सुन्ने’ विषयमा नै एक दिवशीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा राजनीतिक दलका युवा नेताहरुलाई छलफलमा सहभागी गराइएको थियो । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा, नेकपा एमालेका एलपी साँवा, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा लगायतका नेताहरुले उद्योगी व्यवसायीहरुले उठाएको पछिल्लो समस्याको बारेमा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता महेश थापाले अभियोग पुष्टि नहुँदासम्म उद्योगी वा कसैलाई पनि थुन्न नमिल्ने बताए । तर सरकारले अहिले आरोप पुष्टि नभएपनि उद्योगी व्यवसायीहरुलाई पक्राउ गर्ने र थुन्ने काम गरिरहेको । यो कानुनी व्यवस्था विपरीत रहेको दाबी गरे ।
संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगीलाई यस ढंगबाट सरकारले पक्राउ गर्ने र थुन्ने काम गर्न नहुने बताए । उनले कार्यक्रममको उद्देश्य प्रकाश पार्द उद्योगी व्यवसायीहरुलाई यसरी नथुनिदिनु भनेर आग्रह गर्न पनि यस प्रकारको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए ।
उद्योगीहरुले पछिल्लो समय धेरै प्रकारका समस्याहरु सामना गर्दै आइरहेको भएपनि उद्योगी व्यवसायीहरुले चोरी मात्र गर्छन, ठगी गर्ने र नाफाखोरी मात्र हुने भन्ने जस्तो भाष्य निर्माण गर्न खोजिएकोमा उनले असहमति जनाए । यस्तो परिवेशमा सरकारले थप लगानीको वातावरण तयार पार्न नसक्ने र भएको पुँजीसमेत पलायनको जोखिम रहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा युवा नेताहरुले आफूहरु उद्योगी तथा व्यवसायीहरुको हितकलाई आत्मसाथ गरेर अगाडि बढ्न तयार रहेको विश्वास दिलाएका थिए ।
यसैगरी कार्यक्रमा मोरङ व्यपार संघका अध्यक्ष नविन रिजाल , उपाध्यक्ष अनुपम राठी , उपाध्यक्ष अनिल साह , उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी लगायतको पनि उपस्थिती रहेको थियो । उनीहरुले उद्योगी व्यवसायीहरुको गुनासो सरकारसम्म पु¥याइदिन र थुन्नु भन्दा पहिले सम्बन्धित पक्षको कुरा सुन्न सरकारलाई आग्रह गरेका थिए ।