डेंगु बढेपछि बीपी प्रतिष्ठानमा छुट्टै क्लिनिक सञ्चालन

विराटनगर । सुनसरीको धरानमा डेंगुको प्रकोप फैलिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक सञ्चालन गरेको छ ।
सर्वसाधारण बिरामीहरुलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले अलग्गै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको हो ।
प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकासँगको सहकार्यमा असार २९ गतेदेखि क्लिनिक सञ्चानलमा आएको हो । प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि टेण्ट टाँगेर डेंगु क्लिनिकमार्फत उपचार सेवा प्रदान भइहरेको छ ।

क्लिनिकमा प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्सलगायत जनशक्तिको व्यवस्था गरिएको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परिक्षण किट उपलब्ध गराएको छ । यस्तै, उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था पनि उपमहानगरपालिकाले गरिदिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार क्लिनिक सातै दिन सञ्चालनमा रहनेछ । क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहनेछ ।

क्लिनिकमा आउने विरामीहरुका लागि डेंगुको परिक्षण निःशुल्क रुपमा गरिने व्यवस्था गरिएको छ । क्लिनिकमा आउनेमध्ये करिब ८० प्रतिशतमा डेंगु संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । धरानको १५, १७ र ११ नम्बर वडाबाट बढि संक्रमितहरु देखिएको छ ।डेंगु क्लिनिकमा र्यापिड किटको माध्यमबाट परिक्षण गरि डेंगु भए नभएको तुरुन्तै पत्ता लाग्छ । परिक्षणबाट डेंगु संक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परिक्षणहरुका लागि प्रतिष्ठानको ल्याबमा पठाइन्छ ।

रक्तचापमा कमी हुनु, मुटुको धड्कन बढ्नु, गिजा तथा शरिरमा आएका डाबरहरुबाट रक्तश्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि लक्षण डेंगुका गम्भीर लक्षण हुन् । उच्च ज्वरो, शरिर तथा हाडजोर्नीहरुको दुखाई, वाकवाकी, पखाला, कमजोरी डेंगुका सामान्य लक्षण हुन् ।
डेंगुका विरामीहरुको चाप देखिएको तर ५ सय थान मात्र निःशुल्क किट उपलब्ध भएकोले प्रतिष्ठानले थप किटका लागि उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय स्वास्थ्य मन्त्रालयहरुसँग पहल गरिएको जनाएको छ ।

बुधबार, ०३ साउन, २०८०, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर