रानी नाकामा कडाइले व्यापारी उत्साहित

अवैध चोरी–तस्करी रोक्न माग, नाका कडाइ निरन्तर हुनेमा विराटनगरका व्यापारीको आशङ्का

विराटनगर । लामो प्रयासको बाबजुद साउन १ गते (सोमबार)देखि रानी–जोगवनी नाकाबाट खुद्रा सामान ल्याउन कडाइ गरेपछि विराटनगरका व्यापारी खुसी भएका छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाका कडाइ गरेका हुन् ।

उपभोग्य वस्तुहरु दाल, तेल, गेडागुडी, जिरा, धनियाँ, चिनी तथा किचनका सामानहरु लिन नेपालबाट दैनिक सयौं मानिस भारतीय बजार जोगवनी जाने गर्दथे । जोगवनी बजार धानिरहेका नेपाली उपभोक्ताहरु सोमबारदेखि भने कम जान थालेका छन् । भन्सार कार्यालयले जोगवनीबाट १०० रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने नियम कार्यान्वयन गरेको हो । यसका लागि विराटनगरका व्यावसायीहरुको चर्को माग थियो भने व्यापारीहरुको संस्थाले पनि दबाब दिइदै आएको थियो ।

स्थानीय बजार प्रबद्र्धन गर्नु आवश्यक भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अहिलेको कडाई निरन्तर हुने दाबी गरेका छन् । विगतमा दैनिक ६ देखि ७ करोड रुपैयाँसम्मको कारोबार हुने जोगवनी योसँगै सुनसान बनेको समाचारहरु आइरहेका छन् ।
महानगरको पहलमा भन्सारमा कडाइ गरेपछि स्थानीय व्यवसायीहरु उत्साहित भएका छन् । पछिल्लो कदमले स्वदेशी व्यापार व्यवसाय विस्तार हुने र बजार प्रवद्र्धन हुने विश्वास व्यवसायीहरुको छ ।
झापा र सुनसरीमा कडाइ गर्न माग

विराट व्यापार संघका पूर्व अध्यक्ष सुजन थापाले विगतमा पनि यसखालको प्रयास भएको भन्दै निरन्तरता दिन आवश्यक भएको बताए । ‘म विराट व्यापार संघको अध्यक्ष हुँदा पनि यो प्रयास भएको थियो । त्यसअघि ०६८ सालमा पनि केही दिन नाकामा कडाइ गरिएको थियो । तर, त्यसबेलाको प्रयास लामो समय टिक्न सकेन । अहिले कडाइ गरिएको छ । यसलाई निरन्तरता दिनुपर्छ,’ थापाले भने, ‘त्यसबाहेक विराटनगरको वा नेपालका जुनसुकै सीमा क्षेत्रका बजार गुल्जार हुनका लागि अवैध चोरी तस्करी पनि बन्द हुनुपर्छ ।’उनले सुनसरीको भीमपुर क्षेत्रबाट, मोरङकै बुधनगरबाट अथवा झापाका विभिन्न सीमा क्षेत्रबाट तस्करी हुने गरेको बताए । यसलाई रोके मात्रै सीमा कडाइ गरेको सार्थकता हुने बताए ।

विराटनगरका बजार व्यवसाय कमजोर र धरासायी भइरहेको बेला भएका पहलहरु सकारात्मक रहेको उनको भनाइ छ । ‘केही महिना भइसकेको छ भैरहवा नाका पनि कडाइ गरिएको छ, विराटनगर नाकामा पनि सुरु भएको छ, यो एकदमै राम्रो कुरा हो,’ थापाले भने, ‘मेचीदेखि महाकालीसम्मका खुल्ला व्यापारलाई बन्द गर्नुपर्छ ।’ नाकामा हुने कडाइले राजस्व वृद्धि पनि हुने उनको भनाइ छ ।

यस्तै विराटनगरका उद्योगी व्यापारी देवकीनन्द अग्रवालले नाका कडाइ गरेसँगै विराटनगरमा बजारमा चहलपहल बढेको जस्तो देखिएको बताए । उनले पनि उपभोक्तालाई नभएर अवैध तरिकाले चोरी तस्करी गर्ने व्यापारीलाई पनि कडाइ गर्नुपर्नेमा जोड दिए । कतिपय मानिसहरुले जोगवनीको अत्याधिक सस्तो पाउने सामानहरु विराटनगरमा अत्याधिक महँगो पर्ने गरेको गुनासोप्रति अग्रवालले त्यस्तो नभएको बताए । ‘व्यापारीले त्यस्तो गर्छन जस्तो मलाई लाग्दैन, खुल्ला बजार हो, प्रतिस्पर्धात्मक बन्नुछ, यहाँ पनि धेरै मूल्य लिँदैनन्,’ उनले भने । उनले पनि रानी नाका बाहेकका सुनसरी, झापा र मोरङकै कतिपय नाकाहरुलाई अझै कडाइ गर्नुपर्नेमा जोड दिए ।

विराटनगरमा भइरहेको कालोबजारी र मनपरी मूल्य लिने गरेको बारेमा आफू जानकार रहेको भन्दै महानगरका प्रमुख नागेश कोइरालाले बजार अनुगमन गरेर सम्भावित ठगीलाई नियन्त्रण गर्ने बताए । ‘हामी बजार अनुगमनको काम गर्ने तयारी गरिरहेका छौं, कालोबजारी गर्ने, दुई नम्बरी गर्ने, क्यारिङ गर्नेहरुलाई नियन्त्रण गर्नका लागि कडाइपूर्वक लाग्छौं,’ कोइरालाले भने ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले तीन खालका मानिसहरु जोगवनी जाने गरेको बताउँदै नाका कडाइ गर्नु ठीक भएको बताए । ‘पारिबाट सामान ल्याउनेहरु आफैं उपभोग गर्ने, त्यहाँबाट ल्याएर विराटनगरका दोकानमा बेच्ने र अर्को नेपालभरी तस्करी गर्नेहरु छन्,’ उनले भने, ‘यो कडाइ गर्नु एकदमै राम्रो कुरा हो ।’ विराटनगरमा पनि सुपथ मूल्यमा उपभोक्ताले उपभोग्य वस्तु पाउनु पर्ने उनको माग छ । उनले नाका कडाइ रानी क्षेत्रमा मात्रै नभइ सबैतिरको सीमानामा गरिनुपर्ने बताए । विराटनगरका नागरिक अगुवा बसन्त अधिकारी भने भन्सारमा कडाइ गरेको यो निर्णय राम्रो सुनिए पनि यस निर्णयले नागरिकहरुलाई सस्तोमा सामान किनेर खानबाट वञ्चित गराइ महँगोमा सामान खरिद गर्न बाध्य बनाउने बताउँछन् ।

‘निःसन्देह पनि स्वदेशको उत्पादन र बजारलाई प्राथमिकतामा राख्नु राम्रो हो । तर बुझ्नु पर्ने कुरा के हो भने मानिसको आफ्नो गोजीको पैसा खर्च हुने अवस्थामा सायदै भावनामा बगेर निर्णय लिन्छन्, त्यस बेला उनीहरु आफ्नो स्वविवेकको प्रयोग गर्दछन्, चाहे त्यो पढे लेखेको मानिस हुन्, अथवा अनपढ नै किन नहोस्,’ उनले भने, ‘अधिकांश मानिसलाई विराटनगरको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा भन्दा जोगबनीको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा छ, किनकी त्यहाँ समान खरिद गर्दा केहि रकम सस्तो पर्न गई बचत हुन पुग्दछ । न्यून आय भएका मानिसहरुलाई त्यो बचत रकमले ठूलो महत्व राख्दछ ।’

नाका कडाइले अवैध (कर छली गरेको) सामान नेपाल भित्र्याउने उत्प्रेरणालाई झन् बढाउने उनको भनाइ छ । ‘यो स्थितिलाई रोक्न बोर्डरलाई पूर्ण रुपले बन्द गरी मानिसहरुको आवत–जावतमा विशेष निगरानी राख्ने व्यवस्था हुनुपर्दछ, जुनकुरा त्यति सजिलो देखिदैन,’ अधिकारीले भने ।

बुधबार, ०३ साउन, २०८०, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर