काठमाडौं । सन् २०२४ को मार्चमा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ ।
नगरकोटमा सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पूर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य सचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । सदस्य सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राखेका थिए ।
कन्क्लेभमा खेल प्रवद्र्धनमा विदेशी नियोग र दूतावास, माउन्टेन स्पोर्ट्स गेम्समा अन्तर सरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसिक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो ।
कार्यक्रममा विदेशी नियोग तथा दूतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधि सहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा सो कन्क्लेभ आयोजना गरिएको हो । राखेपले अर्को वर्ष मार्चमा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनाको प्रस्ताव अघि सारेर आयोजनाको तयारीलाई अघि बढाउने भएको छ ।
फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रस्थान बिन्दु रहेको बताए ।