विराटनगर । लम्पी स्किन महामारीका कारण धेरै किसानका लाखौं गाईवस्तु प्रभावित भइरहँदा उक्त महामारी नियन्त्रणको विषयमा भने संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभाव देखिएको छ । स्थानीय तहहरु प्रदेश र संघले केही सहयोग नगरेको बताउँछन् भने प्रदेश र संघीय सरकारका निकायहरु यो स्थानीय तहले नै गर्नुपर्ने बताउँछन् ।
असार २१ गतेसम्मको तथ्यांकअनुसार कोशी प्रदेशमा २ लाख ४ हजार २२० वटा गाईवस्तु लम्पीस्किन रोगबाट प्रभावित छन् । त्यसमध्ये ४ हजार ३९१ पशु चौपाया मरेका छन् । हालसम्म ९४ हजार ९५९ वटा गाईवस्तुमा खोप लगाइएको छ । पैसाको अभाव भएको कारण खोपको अभाव भइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश कार्यालयले जनाएको छ ।
यस्तै संघीय सरकार कृषि मन्त्रालयकाअनुसार हालसम्म देशभरमा ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएका छन् । संक्रमतिमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा छन् । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा देखापरेको छ ।
संघ र प्रदेशले असहयोग गरेको स्थानीय तहको आरोप
लम्पी स्किन रोगबाट प्रभावित पालिकाहरुले संघीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएको छ । प्रभावित जिल्ला पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले प्रदेश सरकार र संघ सरकारले छुट्याएको रकम कहाँ खर्च गरिरहेको छ भन्दै प्रश्न गरे ।
‘प्रदेश सरकारले जुन किसिमले सहयोग गर्नुपर्ने थियो त्यो भएन । उहाँहरुले स्थानीय तहको बाटो हेर्नु भएको छ । उहाँहरुलाई आएको बजेट कहाँ खर्च गरिरहनु भएको छ थाहा छैन । यो संघ र प्रदेशको समन्वय एकदमै भएन,’ काफ्लेले भने, ‘हामीलाई दिने प्राविधिक जनशक्ति र नियुक्ति गर्ने विषयमा हाम्रो तर्फबाट गरेका छौं । तर संघबाट समानीकरण र राजस्वको पैसा पनि घटेर आउँदा भुक्तानीमा समस्या भएको छ । संघ र प्रदेश अन्तर्गतका कार्यालयहरु यो रोग नियन्त्रणमा लागेजस्तो देखिएको छैन ।’
उनका अनुसार पालिकाले लम्पी स्किन नियन्त्रणका लागि प्राविधिकहरु थप गरेको छ । गाउँगाउँमा प्राविधिकहरु पठाइएको छ । औषधिहरु केही निःशुल्क र केही सशुल्क वितरण गरिएको छ । यद्यपि पहिले नै रोगले भेटेको पशुलाई बचाउन नसकिरहेको अवस्था रहेको उनले बताए । नयाँ रोग लाग्ने दर भने कम भएको उनको भनाइ छ । ‘संघ र प्रदेशले तत्कालै नियन्त्रणका थप उपाया नल्याए यो रोग नियन्त्रण गर्न धेरै गाह्रो छ,’ उनले भने ।
पाँचथरकै हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले पनि प्रदेश र संघप्रति असन्तुष्टि जनाए । ‘वर्षामा खेत जोत्ने बेलामा गोरुमा पनि रोग आएको छ । कतिपय खेत नै बाँझो हुने अवस्था छ । कतिपय ढिलो गरेर काम हुने देखिन्छ,’ उनले भने, ‘हाम्रा भेटेरीनरी डाक्टरहरू वडावडामा छन् । रोग नियन्त्रणकै लागि ३१ लाख खर्च भइसकेको छ । प्रदेश र संघबाट केही पनि सहयोग भएको छैन । अहिले नियन्त्रण बाहिर छ । हामीसँग गाउँपालिकामा भएको आर्थिक स्रोतको परिचालन गरेका छौं । तर, अब पुग्ने अवस्था छैन ।’
यस्तै पाँचथरकै फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने अहिले रोग नियन्त्रणमा आएको बताए । ‘पालिकामा लम्पी स्किन नियन्त्रणमा छ । संघबाट भर्खरै एक लाख रुपैयाँ दिएको भन्ने सुनियो । तर, अन्तिम अवस्थामा आएको कारण त्यो खर्च गर्न सक्ने अवस्था रहेन । हामीले पालिकाले नै ४ जना प्राविधिकहरु नियुक्ति गरेर २ महिनादेखि काम गरिरहेका छौं,’ उनले भने । बाढी पहिरोले समस्याग्रस्त भएको फालेलुङलाई अर्को समस्या थपिएको उनले बताए । उनका अनुसार खेत जोत्ने गोरुमा रोग देखिँदा खेती प्रभावित हुने अवस्था रहेको छ । ‘कृषकको गोरुलाई लम्पी रोग लागेपछि समस्या भयो । बाँझो नै नरहेपनि ढिलो खेती हुने अवस्था आयो । रोग नलागेको गोरुलाई पर्खिदा समस्या भयो,’ उनले भने । फालेलुङमा समस्या आएको एक हप्ताभित्रमा माथिल्लो निकायमा जानकारी दिएको बताउँदै उनले संघ र प्रदेशबाट सहयोग नभएको गुनासो गरे । पालिकाले हालसम्म १५ लाख भन्दा बढी खर्च गरिसकेको उनले बताए ।
यस्तै त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतले पनि प्रदेश र संघमा सरकार फेरबदलमै लागिरहेको भन्दै व्यंग्य गरे । ‘संघ र प्रदेशले स्थानीयलाई समन्वय गर्दै गर्दैन हामीले के गर्न सक्छौं । उनीहरुको सरकार फेरबदलकै कुरा चलिरहन्छ । काम गर्नुपर्ने निकाय प्रदेश सरकार थियो । तर, उसले समन्वय गरेन,’ उनले भने, ‘सबै काम गर्ने स्थानीय तहले । अधिकार र बजेट उनीहरुले राख्ने भयो । यो राम्रो परिपाटी भएन ।’ त्रियुगा नगरपालिकाका ३० प्रतिशत वस्तुहरु यो रोगबाट प्रभावित भएको उनको भनाइ छ ।
धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले पनि प्रदेशले कुनै चासो नदिएको गुनासो गरे । ‘प्रदेश र संघले के गर्छ हामीलाई थाहा छैन । अलिकति पैसा पठाएर सबै गर भन्छ । जनताको यत्रो व्यवसायमा असर गरिरहेको छ । न प्रदेश बोल्छ न संघीय सरकार बोल्छ । केही न केही कार्यक्रम त ल्याउनु पथ्र्यो नि,’ तामाङले भने, ‘उनीहरू आफैं अलमलमा परेको जस्तो देखिन्छ । मुख्यमन्त्री कार्यालयमा म आफैं गएँ । तर, त्यहाँ मुख्यमन्त्री, मन्त्री तथा कर्मचारी कसैले पनि रेस्पोन्स गर्दैनन् ।’ आफ्नो पालिकामा भ्याक्सिन वितरण गरेको र किसानका प्रत्येक गोठमा पुगेर सचेतना अपनाउन आग्रह गरेको बताए ।
प्रदेश भन्छ, ‘गर्नुपर्ने स्थानीय तहले नै हो’
यता, कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले भने पर्याप्त जनशक्ति र स्रोत नभएपनि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले संघीय सरकारबाट अधिकारसहित बजेट स्थानीय तहलाई नै पठाएको कारण आफूहरुले धेरै गर्न सक्ने अवस्था नरहेको बताए ।
‘कार्यकारी अधिकारसहित अर्थमन्त्रालयले बजेट स्थानीय तहलाई नै पठाएको छ । धेरै बजेट पठाएपछि प्रदेशले मात्रै होइन संघ सरकारका निकायसँग पनि बजेट हुँदैन । अनि बजेट नभएको निकायले के सहयोग गर्ने ?,’ ढुंगानाले भने, ‘हरेक पालिकामा पशुसेवाका दरबन्दी संघीय सरकारले स्थानीय तहमा पठाएको छ । यो रोग नलाग्दा चाहिं ती सबै दरबन्दी काटेर फाल्दिने, अनि कर्मचारी हटाएपछि काम कस्ले गर्छ भन्नु छ । ओएनएम गरेर ७ जनादेखि ११ जनासम्मको दरबन्दी आएको थियो । तर, समस्या नआउँदा चाहिं दरबन्दी काटेर २ जना ३ जना मात्रै राख्ने गर्नुभयो ।’
प्रदेश सरकारको २ वटा जिल्ला हेर्ने गरी एउटा पशु अस्पताल छ । त्यहाँ रहेका ४–५ जना कर्मचारीले दुईवटा जिल्ला सबै हेर्न नसक्ने ढुंगानाले बताए । ‘प्रदेशको स्थानीय तहसम्म इकाई छैन । पहिलेपहिले नीजि क्षेत्रलाई परिचालन गरिन्थ्यो । त्यसले पनि सहयोग हुन्थ्यो । कतिपय पालिकाले उहाँहरुलाई परिचालन गर्न पनि सक्नु भएन,’ उनले भने, ‘प्रदेश सरकारमा कर्मचारी कम छ । प्रदेश सरकारलाई भन्दा धेरै अधिकार स्थानीय तहसँग छ । हामीले सहजीकरण गर्ने काम गरेका छौं ।’
लम्पी स्किन कस्तो रोग हो ?
लम्पी स्किन रोग गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि गाईभैँसीको दूध उत्पादन कम हुने उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्ने उनीहरुको दाबी छ ।
यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।