कोशी प्रदेश : पूँजीगत खर्च ८४ प्रतिशत पुग्यो

विराटनगर । कोशी प्रदेश सरकार प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षको प्रारम्भिक खर्च विवरण सार्वजनिक गरेको छ ।
विवरणमा हालसम्म प्रदेशमा पूँजीगततर्फ १८ अर्ब १३ करोड ३९ लाख ५९ हजार ४५२ रुपैयाँ अर्थात् ८४ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको देखिएको छ । यस्तै चालूतर्फ १२ अर्ब ९३ करोड ५२ लाख २५ हजार ४०५ रुपैयाँ अर्थात् ७९ दशमलव ४३ प्रतिशत खर्च भएको छ ।कोशी प्रदेश सरकारले चालू र पूँजीगत गरेर ३१ अर्ब ६ करोड ९१ लाख ८४ हजार ८५८ रुपैयाँ खर्च गरिसकेको छ । जुन कूल बजेटको ८२ दशमलव २८ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ९२ करोड ७५ लाख ४३ हजार रुपैयाँ बजेट ल्याएको थियो । बजेटमा संघीय सरकारले सशर्त अनुदान पूँजीगततर्फ २ अर्ब १६ करोड ६७ लाख ६० हजार रुपैयाँ फिर्ता भएपछि बजेटको आकार ३७ अर्ब ७६ करोड ७ लाख ८३ हजार ३२४ रुपैयाँमा खुम्चिएको थियो ।

बजेटमा चालूतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पूँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ रहेको थियो । जसमा सबैभन्दा धेरै पूँजीगत खर्चका लागि सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय (हाल पूर्वाधार विकास मन्त्रालय)मा मात्रै १२ अर्ब ९० लाख थियो । मन्त्रालयको बजेटमध्ये ८३ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।

यस्तै खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयको पूँजीगत बजेट ५ अर्ब ६२ करोड २० लाखमध्ये ९२ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

प्रदेश सरकारको खर्च विवरणप्रति निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खुसी व्यक्त गरेका छन् । उनले आफूले लिएको सही नीतिका कारण बजेट खर्च गर्न सक्षम भएको दाबी गरेका छन् । चालू आर्थिक वर्षको कूल खर्च ८०.८५ प्रतिशत हुने आफ्नो अनुमान सही भएको उनको भनाइ छ ।

मङ्गलबार, २६ असार, २०८०, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर