काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश सांसद लीलबहादुर थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् ।
ललितपुर स्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले नेता द्वय दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाइनलमा २१–१७, २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाको जोडी तथा पूर्व प्रहरी अधिकारी नवराज सिलवाल र पूर्व मन्त्री भानुभक्त ढकालको जोडी संयुक्त तेस्रो भए ।
नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासङ्घको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा राजेन्द्र कुमार राई र लीलबहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेका थिए ।
विजयी खेलाडीहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश कुमार तिम्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।
जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपू तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरू गरी ६४ जोडीको सहभागिता रहेको थियो ।