विराटनगरको बजेट : कृषि क्षेत्र नभएको विराटनगरमा कृषि विकासका लागि बजेट !

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८/०८१ को वार्षिक आय तथा व्ययको अनुमानित विवरण नगर सभामा आइतवार पेश गरेको छ । उपप्रमुख शिल्पा निराला कार्कीले पेश गरेको विवरणमा विराटनगर महानगरपालिकाले भूउपयोग ऐन र नियमावली बमोजिम जग्गाको वर्गीकरण गर्दा दुई वटा वडाको आंशिक क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकेको छ । १९ वटा वडा भएको महानगरको वडा नम्बर १९ र १८ का सीमित क्षेत्रलाई कृषि क्षेत्र भनि छुट्याएको छ । बाँकी सबै क्षेत्रलाई आवास क्षेत्र घोषणा गरिएको छ । तर विराटनगर महानगरपालिकाले कृषि उत्पादन बढाउन भन्दै विभिन्न अनुदानका कार्यक्रम बजेटमा समावेश गरेको छ ।

कृषि विकास तर्फ मकैको बीऊमा ५० प्रतिशत अनुदान, पोषणयुक्त तरकारी उत्पादनमा कार्यक्रममा ५० प्रतिशत अनुदान, तरकारी मिनीकिट वितरणमा शतप्रतिशत अनुदान, जैविक बिषादीमा शतप्रतिशत अनुदान, सामुहिक व्यवसायिक खेतीमा शतप्रतिशत अनुदान, नमूना वडा उत्पादन कार्यक्रममा ५० प्रतिशत अनुदान, कृषक समूह सहकारी अभिमुखीकरण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छ । विराटनगर महानगरपालिकाले बजेटमा नयाँ कार्यक्रमहरुलाई समावेस गरेको छैन । महानगरमा सञ्चालन भइरहेकै कार्यक्रमलाई बजेटमा समावेश गरी निरन्तरता दिइएको छ ।

महानगरले विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार, वातावरण र फोहोर व्यवस्थापन, उद्यमशीता तथा रोजगार आदि क्षेत्रलाई प्राथमिकता दिएर बजेटमा विभिन्न कार्यक्रमहरु समावेश गरेको छ ।

विद्यालय भर्ना दर ९९.६ प्रतिशत रहेको उल्लेख गर्दै आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा भर्ना हुने व्यवस्था मिलाइ सर्वसुलभ र गुणस्तरीय शिक्षा दिने वातावरण बनाउने महानगरले जनाएको छ । सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सिकाई प्रणाली विकास गर्न ‘मेयर डिजिटल स्कुल’ कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरिएको छ । महानगरले एक वडा एक नेतृत्व स्कुलको अवधारणा अगाडि सार्दै विद्यालय सुधार कार्यक्रम अगाडि बढाउने जनाएको छ । सामुदायिक विद्यालयको विद्युत महशुल अनुदानका लागि महानगरले ५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

महानगरले दोश्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । महानगरले गर्भवती महिलाका अतिरिक्त आगार्मी आर्थिक वर्षबाट अपाङ्गता भएका व्यक्ति र ८० वर्ष भन्दा माथिका नागरिकको उपचारमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

सोमबार, ११ असार, २०८०, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर