विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको दमकमा एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो ।
मोरङको उर्लाबारी–६ मा रहेको आश्रय मेडिकल हलले गर्भपतन गर्न दिएको औषधि सेवनबाट राईको अत्यधिक रक्तश्राव र संक्रमणका कारण उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
दमक–४ घर भई उर्लाबारीमा मेडिकल पसल सञ्चालन गर्दै आएको ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए । घिमिरेको मेडिकल हलमा जेठ ३२ गते गर्भपतन गराउनका लागि कल्पना पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी दाहालले भने, ‘आश्रय मेडिकल हल पुगेकी कल्पनालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ ।’
मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएको बताइएको छ । कल्पनालाई कुन औषधि दिइएको खुल्न सकेको छैन ।
घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ । घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि कल्पनालाई रक्तश्राव भएको र नरोकिएपछि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा थप उपचारको लागि लगिएको पाइएको छ ।
‘अस्पताल भर्ना गर्दा कल्पनाका श्रीमान युवराज पनि सँगै गएका थिए । गम्भीर अवस्थामा अस्पताल पुगेकी कल्पनालाई चिकित्सकले परीक्षण गर्दा गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पत्ता लाग्यो,’ डिएसपी दाहालले भने । अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर रहेको र सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साह बताए । परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि उपचार थालेकोमा रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्नका लागि शल्यक्रिया गरेपनि बचाउन नसकेको उनको भनाइ छ ।
बिरामीको शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डाक्टर साहले बताए । उनलाई शनिबार राति नै थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियूमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरानमा उपचारका क्रममा मृत्यु भएपछि कल्पनाको शव ल्याएर ट्रमा सेन्टर अगाडि राखेर परिवार र आफन्तले ट्रमा सेन्टर र चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले चिकित्सकको लापरबाहीले गर्दा घटना भएको भन्दै आइतबार दिनभर ट्रमा सेन्टर अगाडि प्रदर्शन गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरेको हो । उनलाई मोरङ अदालतमा सोमबार ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव कोशी अस्पतालमा पोष्टमार्टपछि परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ । असुरक्षित गर्भपतनले अत्यधिक रक्तश्राव हुने, औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने, प्वाल पर्ने, संक्रमण हुनसक्ने जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।