काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई पुरानै अवस्था फर्काउने गरी सुरु भएको षडयन्त्रलाई असफल पार्न आवश्यक भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रममा अध्यक्ष यादवले संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालाई बलियो बनाउन आवश्यक भएको बताए ।
उनले भने ‘ जनताले अझै पनि आएको परिवर्तनहरुलाई अनुभव गर्न पाएका छैनन् र राजनीतिक रुपमा कर्णालीलाई हामीले बदल्यौं । शासन प्रणाली बदलिए पनि शैली र मानसिकता अहिले सम्म पुरानै छन् । त्यसैले हाम्रो मोर्चाको भुमिका भनेको प्राप्त संघीय लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने ,संघीयता गणतन्त्र समावेशिता धर्म निरपेक्षता, मौलिक हक र नागरिक स्वतन्त्रता जस्ता हामीले प्राप्त गरेका उपलब्धिहरुलाई बिभिन्न क्षेत्रबाट प्रतिगमनकारी शक्तिहरु र तिनका मतियारहरुबाट धरापमा पार्ने, समाप्त पार्ने र पुरानै तर्फ फर्काउने प्रयास भईरहेको छ । त्यसलाई असफल पार्न आवश्यक छ ।
सोमबार घोषित समाजवादी मोर्चाको समझदारी पत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।