विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाटै बजेट ल्याउने संकेत गरेको छ । कोशी प्रदेशसभामा दलहरुको तर्फबाट सम्बोधन गर्ने क्रममा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो संकेत गरेका हुन् । उनले सरकारले आजै प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास नहुने आशङ्का बढेकोले बजेट ल्याउने विषयमा अर्को बाटो अपनाउन सक्ने बताए ।
‘बहुमत स्थापित गर्न सकिन्छ भने संसदबाट बजेट ल्याइन्छ । होइन भने अर्को बाटोबाट भएपनि ल्याइन्छ । अब नीति तथा कार्यक्रम पारित नहुने आशङ्का उत्पन्न भयो,’ भण्डारीले भने, ‘मैले त विशिष्ट खालको परिस्थितिमा आएको नीति तथा कार्यक्रम पास गर्छौं । बजेट पनि ल्याउनु होस्, नीति तथा कार्यक्रम पनि ल्याउनु पास गर्छौं । ३० दिनपछि हामीले सरकार बनायौं भने पछि हेरफेर पर्छौं भन्नुहुन्छ होला भनेको थियो तर, अहिले रोष्टममा आएर आजै विश्वासको मत लिनु भन्नुभयो । यो अपेक्षा विपरीत छ ।’
उनले मुख्यमन्त्रीले आज राजीनामा दिएको खण्डमा अर्को सरकार गठन भएर संवैधानिक व्यवस्था अनुसार असार १ गते बजेट ल्याउन सम्भव नहुने बताए । यसअघि विपक्षीले आजै विश्वासको मत लिएर मात्रै वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिएका थिए । भण्डारीले अध्यादेशबाट बजेट ल्याउँदा असंवैधानिक नहुने भन्दै संवैधानिक बाटोबाटै बजेट आउने बताए ।
आजकै प्रदेशसभामा सम्बोधन गर्दै विपक्षी दल काँग्रेसका सांसद केदार कार्कीले भने सरकारले आफू अल्पमतमा रहेको बेला प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेर संसद र प्रदेश प्रमुखको अपमान गरेको बताए । ‘सरकारले समर्थन गुमाइसकेको छ । समर्थन गुमाइसकेको सरकारले प्रदेश प्रमुखलाई ल्याएर वाचन गर्न लगाउनु संसदको, प्रदेश प्रमुखको अपमान गर्यो । सरकारले बिहानै गन्हाउने गरी छ्याप्छ्याप्ती बनाएको छ । बजेट अधिवेशनलाई अन्त्य गर्ने अरे । बजेट नल्याई बजेट अधिवेशन कसरी अन्त्य हुन्छ ?,’ कार्कीले भने, ‘विश्वासको मत लिन अझै समय छ । भोली विश्वासको मत लिएर पर्सि बजेट ल्याउने समय छ । दिउँसो मात्रै नभएर रातीपनि जनताको विषयमा छलफल गरौंला, बहस गरौंला, बजेट ल्याउन पनि असार १ गते १२ बजेसम्मको समय छ । मुख्यमन्त्रीलाई म भन्छु हिम्मत गर्नुहोस् । हिम्मत नै छैन भने छोडिदिनुहोस् । तपाईले गरेको गल्तीलाई सदर गर्न सांसदहरु साक्षी बस्न सक्दैनन् ।’ उनले सभामुखबाट विश्वासको मत लिन सरकारलाई रुलिङ गर्नुपर्ने जिकिर पनि गरे । ‘सभामुखबाट रुलिङ होस् नीति तथा कार्यक्रमको छलफल हुनुभन्दा अगाडि बजेट आउनु भन्दा अगाडि सरकारले विश्वासको मत लेओस्,’ कार्कीले भने ।
यस्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानु,’ उनले आग्रह गरे ।
माओवादी केन्द्रको तर्फबाट बोलेका सांसद गणेश उप्रेतीले पनि पहिले विश्वासको मत लिएर मात्रै अरु विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । ‘पहिले विश्वासको मत लिनुपथ्र्यो । त्यसपछि नियमित प्रक्रियामा जान सजिलो हुन्थ्यो । त्यसो भएन भने मतदाता कन्फ्युजमा पर्छन् । जनताहरु कन्फ्युजमा जान्छन् । तपाईले अध्यादेशबाट बजेट ल्याउनु भयो भने जनतालाई ढाँट्ने छल्ने काम भएको जनताले बुझ्नेछन्,’ उनले भने, ‘कोशी प्रदेशले संवैधानिक प्रक्रियाभन्दा बाहिरबाट अभ्यास गरिरहेको छ भन्ने सन्देश देशैभरी गयो भने संघीयता विरोधीको मनोबल बढ्छ ।’
उनले सल्लाहकारले मुख्यमन्त्रीलाई उचित सल्लाहकार नदिएको दाबी पनि गरे । ‘अध्यादेशबाट बजेट ल्याउने सल्लाह दिएका छन् भने यो हठ नराख्नुहोला । अध्यादेशबाट ल्याउँदा पनि विस्थापित हुन्छ । यो कार्यान्वयन पनि हुँदैन भन्ने थाहा भइरहेको बेला यस्तो नगरौं । एमालेले त्यो हठ राखेको हो ? यदि त्यसो होइन भने संसदबाटै बजेट आउनु पर्छ,’ उप्रेतीले भने । राप्रपा संसदीय दलको तर्फबाट बोल्दै सांसद अम्बर बहादुर विष्टले भने सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरे । आजको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक भोलीका लागि तोकिएको छ ।