एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा थप १२९० जनाको मृत्यु भएको सार्वजनिक भएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेका थप १२ सय ९० जनाको मृत्यु भएको पाइएको छ ।
वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै ३ हजार ८६९ पुर्याएको छ। समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या ५० हजार ३३३ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण मृतकको संख्या गणनामा छुटेको हो । यसअघि अस्पतालमा भर्ना भएर मृत्यु भएकाहरुको मात्र तथ्यांक राखिएको बताइएको छ ।
पछिल्लो तथ्यांक अनुसार चीनमा कोरोनाबाट ४ हजार ६३२ जनाको मृत्यु भएको छ । ८२ हजार ६९२ जना संक्रमित भएकोमा ७७ हजार ९४४ उपचारपछि घर फर्किएको बताइएको छ ।