काठमाडौं । महावीर पुनसँग सरकारले वार्ता थालेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै पुनले आन्दोलन गरीरहेका छन ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अहिले वार्ता भइरहेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले पुनसँग वार्ता गरिरहेको हो ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा गत शुक्रबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए ।
उनले आफ्ना माग पूरा नभएसम्म सडकमै सुतेर धर्ना दिने घोषणा गरेका थिए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध गर्नु पर्ने उनको माग छ । यस क्षेत्रको विकासका लागि सांसदहरुले कानुन निर्माणमा बेवास्ता गरेको उनको गुनासो छ ।
पुनको आन्दोलनप्रति राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएका छन् भने समर्थन पनि बढ्दै गएको छ ।