कोशी अस्पतालमा पहिलो पटक मस्तिष्क गाडिएको हड्डी टाउको खोलेर निकालियो

विराटनगर । मोरङको जहदा गाउँपालिका – २ नयाँ टोलका ७ वर्षीय बलवीर राजभार खेल्ने क्रममा टाउकोमा बाँसको भाटाले लागेर दुई हप्ता अगाडी गम्भीर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झन्डै एक हप्ता घरमै बलवीरलाई राखे । बलवीरको टाउको दुखेर पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपिडीमा लिएर आए । जब अस्पतालका न्युरो सर्जन डा। चन्द्र प्रकाश यादवले राजभारको टाउकोमा लागेको चोट हेरे उनी चकित भए । चोट लागेको एक हप्तापछि अस्पताल लिएर आएका थिए ।

जनमिस्त्री गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठुला बुबा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदियो । त्यस लगतै अस्पतालका न्युरो सर्जन डा। यादवको नेतृत्वको टोलीले राजभरको डेढ घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मस्तिष्क भित्र गाढिएको सिटी स्क्यान गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौँ,’ डा। यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । बिरामीको अवस्था सुधार भइरहेको छ । ’

शल्यक्रिया गरिएको दश दिनपछि बिरामी बलवीरलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘बिरामीलाई अहिले खान, बस्न र हिँडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रूपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा। यादवले भने । बालकको उपचार गरिरहेका चिकित्सक यादवका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्जको तयारी गरिएको हो ।

यस्तो बिरामीको उपचार जतिसक्दो चाँडै नगरे छारेपन आउने सक्ने सम्भावना बढी हुने उनले बताए । ‘रगत जम्न सक्ने हुन्छ । भोलिको दिनमा बच्चाको एक साइट खुट्टाहरू कमजोर हुनसक्छ । त्यसले गर्दा चाँडै शल्यक्रिया गरिनुपर्ने हुन्छ, र त्यो मस्तिष्कमा गाढिएको हड्डी निकाल्नुपर्ने हुन्छ,’ डा। यादवले भने ।

टाउको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सह प्राडा रविन राज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको शिष्टहरू निकाल्ने गरिएको थियो । अहिले टाउको खोलेर मस्तिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ काशीमा न्युरो सर्जरीको सेवाहरू अहिले सञ्चालनमा रहेको उनले बताए । आर्थिक रूपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।

न्युरो सर्जन डा। यादवले उपचार गरेपछि छोराको स्वास्थ्य अवस्था ठिक भएपछि ठुला बुवा उमेश हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हाँस्न र बोल्न सक्ने भएको छ । १० दिनको उपचारपछि सोमबार डिस्चार्ज हुने भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पुर्‍याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन् जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’ राजभर परिवार चिकित्सकहरूको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

कोशीको न्युरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव

न्युरो सर्जरी सेवा सुरु भएको कोशी अस्पतालमा पर्याप्त मात्रामा जनशक्ति र उपकरणहरूको अभाव रहेको चिकित्सकहरूले बताएका छन् ।
कोशीमा न्युरो सर्जरीको दरबन्दी एक जना रहेको छ । उक्त दरबन्दी पदपूर्ति भएको छ । न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरूको आवश्यक रहेको छ । त्यससँगै थप उपकरणहरूको पनि आवश्यक रहेको छ,’ न्युरो सर्जन डा। चन्द्र प्रकाश यादवले भने, ‘ तत्काल पोस्टप र माइक्रोस्कप उपकरण भए न्युरो सर्जरीको ठुला– ठुला शल्यक्रिया गर्न सकिने थियो ।’ थप जनशक्ति र पर्याप्त उपकरणहरू भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आइसियुको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नु मात्र ठुलो कुरा होइन । त्यसपछि हुनुपर्ने कियर ठुलो विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यक रहेको छ ।’

कोशीको ओपिडीमा हप्ताको तीन दिन न्युरो सर्जरीको सेवाहरू हुने गरेको छ । सोमबार, बुधवार र बिहीबार ओपिडीमा चिकित्सक यादव बस्नेत गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मङ्गलवार हुने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका निमित्त मेसु सिंहले २० वर्ष अगाडीदेखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यस बेलामा ओपीडमा ५ देखि ६ सय बिरामी हुने गरेको थियो । अहिले दैनिक ओपिडीमा १५ सय देखि २ हजारसम्म बिरामी आउने गरेका छन् । पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहलकदमी गरिरहेका छौँ,’ मेसु सिंहले भने ।

आइतबार, १९ चैत, २०७९, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर