सम्पादकीय
भर्खरै गर्मियाम सुरु भएको छ । चैतमासको गर्मीसँगै सुख्खापन बढ्दै गएको छ । लामो समयदेखिको खडेरीपछि वर्षा हुन थालेको छ तर राम्ररी पानी पर्न सकिेको छैन । गर्मीसँगै हावाहुरीको याम पनि सुरु भएको छ । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ जस्ता प्राकृतिक प्रकोपको जोखिम बढेर गएको छ ।
वर्षा रोकिएसँगै अब गर्मी बढ्ने र त्यसपछि डढेलो र आगलागीको घटनामा पनि वृद्धि हुने जोखिम रहन्छ । विगत वर्षहरुको अनुभवका आधारमा पनि त्यस्तो जोखिमलाई नकार्न सकिदैन । अध्ययन अनुसार वैशाख महिनामा सबैभन्दा धेरै आगलागीका घटना हुने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख–जेठ सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पु¥याउने समय भएकाले विशेष सावधानी अपनाउनुपर्छ ।
पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले गर्ने क्षतिसमेत बढिरहेको देखिन्छ । ‘अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणात्मक ढंगबाट बढेको जानकारहरुको दाबी छ । यस्तो बेलामा राज्यका सबै तहहरुले विशेष सावधानी र सतर्कता अपनाउन आवश्यक हुने, प्रकोप रोकथामका लागि पूर्व तयारीमा केन्द्रित हुनुपर्ने अवस्था छ । तर, हाम्रा सरकारी संयन्त्रहरु त्यस ढंगबाट तयार भएको र चुस्त व्यवस्थापनका लागि प्रयत्नशील रहेको पाइदैन ।
प्राधिकरणका अनुसार बुधवारमात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगलागी, हावाहुरी चट्याङ र डढेलोका छन् । गएको वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । यी घटनामा परेर एक सय दुई जनाको ज्यान गएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ । आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा दुई अर्ब ३० करोड रुपैयाँ बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुरीबतासका एक सय घटना हुँदा १० जनाको ज्यान गएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।
सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण हुने गरेका छन् । आगलागी नियन्त्रणमा सुरक्षाकर्मी बाहेक अरु प्रभावकारी क्षमता भएको कुनै संयन्त्रको विकास गरिएको छैन । हाम्रा सरकारहरुले यस प्रकारको विपद् नियन्त्रणका लागि विशेष कार्ययोजना निर्माण गर्नुका सार्थ आवश्यक संयन्त्र तयार गरी कार्यान्वयन गर्न आवश्यक छ ।