विराटनगर । घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।
सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै ६ दशकपछि विराटनगरले उपाधि उचालेको हो ।
२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।
विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो । जितको लागि विराटनगर सिटीका अफिज ओलावाले , विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावालेले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवालेले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमलले पेनाल्टी एरियाबाट गोल गरी अग्रता दोब्बर बनाए । सुजुकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी ३–० को अवस्थामा पुर्याए। विमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।
फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कारमा पनि विराटनगर सिटीको बर्चस्व कयम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोरर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधिभरी दुई गोल गरेका थिए । बेस्ट फरवार्ड भारतको चाल्र्स क्युराको, बेस्ट मिल्डफिल्डर विराटनगर सिटीका युता सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए ।
बेस्ट डिफेन्डर विराटनगरका देवेन्द्र तामाङ घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा अवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।
फाइनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिँिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हाफमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले खेल बराबरीमा ल्याउने अवसर खेर गयो ।
४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले गरेको प्रहार पोस्टमाथिबाट बाहिर गएको थियो । ४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल हुन सकेन। उनले गरेको कडा प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औं मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टीमा स्टेफेनको े प्रहार केरलाका गोलकिपर सनफिरले उत्कृष्ट रुपमा बचाए । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतले ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो ।
प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउत विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार बितरण गरेका थिए ।