कोशी आन्दोलनको मर्ममाथि संकट

  पुण्य पी अधिकारी

कोशी प्रदेश नामकरणको विषयमा लिएर फागुन १७ गतेयता प्रदेश अशाान्त छ । ‘पहिचान पनि भेटिने, द्वन्द्व पनि मेटिने’ भन्दै पहिचानका आधारमा प्रदेशको नामकरणका लागि पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन् । चैत १४ गते विराटनगरमा प्रदेशसभा सदस्यहरुलाई घेरा हाल्ने क्रममा प्रहरी र जातीयताका आधारमा प्रदेशको नामाकरण माग गर्नेहरुबीच भएको झडप र धरपकडले सुखद समाचार दिएको छैन ।
चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा प्रहरीले आक्रमण गरी घाइते भएका ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको चैत १० उपचारका क्रममा भएको मृत्युले नामकरणको आन्दोलनलाई काबु बाहिर पु¥याएको छ । जसका कारण आन्दोलन शान्तिपूर्ण भन्दा पनि हिंसात्मक ढंगले अघि बढेको छ । यो कुनै अर्थमा उचित होइन ।

नामकरणको विषयलाई लिएर आन्दोलनरत पक्षले शान्तिपूर्ण हिसाबले आन्दोलनका कार्यक्रम सञ्चालन गर्न पाउनु उनिहरुको राजनीतिक अधिकार नै हो । तर, आन्दोलन काबु बाहिर हुँदा चैत १४ गते उर्लावारीमा जनप्रतिनिधिमाथि हातपात भएको छ । यसले आन्दोलनको अर्थ सही वा बेठिक भन्ने तमाम प्रश्न सतहमा ल्याएको छ ।

नामकरण र आन्दोलनलाई सम्बोधन गर्ने गरी नेकपा एमालेका अध्यक्ष, नेपाली कांग्रेसका सभापति, नेकपा माओवादी केन्द्रका सचिव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशका प्रदेश अध्यक्षहरुले चैत १२ गते जारी गरेको संयुक्त प्रेस वक्तव्यले समाधान भन्दा घिऊमा आगो थपेको त्यसपछिका दिनहरुमा बढेको हिसांत्मक आन्दोलनले पुष्टि गरेको छ ।

फागुन १७ गते प्रदेशसभाले दुई तिहार मतका आधारमा तत्कालीन प्रदेश न.१ को नाम कोशी प्रदेश भनि नामकरण गरिसकेको छ । फागुन १८ गते कोशी प्रदेश हुने भनि प्रदेश राजपत्रमा सूचना प्रकाशन गरिएको छ । तर सोही विषयमा लिएर दैनिक रुपमा भएका अप्रिय गतिविधिले जनतामा आशा भन्दा निराशालाई उत्कर्षमा पु¥याउने जोखिम उच्च देखिन्छ ।

पहिचानसहित नामकरण हुनुपर्नेमा सो नभएर कोशी नामकरण भएकोमा पहिचानवादीहरू आन्दोलित छन् । इतिहासका आधारमा अरूण पूर्वका नौ जिल्लामा किरातहरूको बाहुल्यता छ । भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरबाहेकका जिल्लालाई लिम्बूवान क्षेत्रमा रूपमा इतिहासमा अभिलेखित गरेको पाइन्छ । यसर्थ कोशी प्रदेशको सट्टा जातीय पहिचानसहित प्रदेशको नामकरण हुनुपर्ने आन्दोलनरत पक्षको भनाइ छ ।

तर, जनताको अमूल्य मतदानबाट निर्वाचित जनताका दुई तिहाइ प्रतिनिधिहरूले प्रदेशसभामा प्रदेशको नाम कोशी हुने निर्णय गरेपछि अब विरोध गर्नु त्यति सान्र्दभिक नठहरिने निश्चित छ । .‘द्वन्द्व पनि मेटिने, पहिचान पनि भेटिने’ आँफैमा गम्भीर विषय हो । तर, पहिचानवादीहरूले व्यालेट बक्सबाट स्थापित गर्नुपर्ने पहिचानलाई निर्वाचनका बेला भुलेर प्रदेश राजपत्रमा कोशी प्रदेश नामकरण भएपछि विरोध गर्नुमा आम जनताको विरोध छ ।

लोकतन्त्रको आत्मा निर्वाचन हो । निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरूले गरेको निर्णय स्वीकार गर्दैनौ भन्दै आम सर्वसाधारणलाई दुःख दिने हिसाबले फागुन १७ गतेयता कोशी प्रदेशमा भएका बन्दलगायतका गतिविधिमा अधिकांश प्रदेशवासीको समर्थन भन्दा बढ्ता विरोध छ । पहिचान पक्षधरहरूले व्यालेट बक्सबाट पहिचान स्थापित नगराएर प्रदेश राजपत्रमा सूचना प्रकाशन पश्चात जोडजाम गरेर एकथरि जनतालाई सकडमा उतारेर हिसांत्मक रुपमा आन्दोलन चर्काउँदा पहिचानसहितको नामाकरणको आन्दोलनमाथि भोलिका दिनमा जनताहरुको समर्थन नरहने निश्चित प्राय ः छ । यसर्थ आन्दोलनको मूल मर्मलाई भुल्नु पहिचानमाथि अर्को संकट हुनेछ ।

बिहिबार, १६ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर