अनन्तराज न्यौपाने
प्रदेश सभाले गत फागुन महिनामा चलाखीपूर्ण तर उत्ताउलो ढङ्गले तत्कालीन प्रदेश नम्बर १ को नामकरण कोशी भनेर गरेपछि समग्र प्रदेश अशान्त र तरङ्गित बनेको छ । विराटनगरमा पहिचानका पक्षधरले आफ्नो शक्तिप्रदर्शन गरिसकेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ओखलढुङ्गामा र माओवादी नेता एवम् प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई ताप्लेजुङमा असन्तुष्ट पक्षले घेरेका छन् । प्रदेश सभाले एउटा शान्त तलाउमा अनावश्यक ढुङ्गा हान्ने काम गरेको भोलिपल्टै त्यही तलाउमा अरू ढुङ्गा प्रहार गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण गर्ने कामको समन्वय र संयोजन गरेर आफूले धेरै ठुलो पुरुषार्थ गरेको सम्झन्छन् भने त्यो धारणा केवल मिथ्या र भ्रम हो । हो, संसदीय अभ्यासमा गणितको भूमिका निर्णायक हुन्छ । तर संसदीय अभ्यासमा गणित नै सर्वोपरि होइन । संसदीय अभ्यासको मूल मर्म, मूल्य र मान्यता भनेको जनभावना हो, गणित होइन । जनभावनालाई गणितले सम्बोधन गर्नसक्यो भने मात्र वास्तविक संसदीय अभ्यास कहलिन्छ । तर कदाचित् गणितको निर्णय एकातिर अनि समग्र प्रदेशवासीको जनभावना अर्कातिर भइदियो भने त्यस्तो संसदीय अभ्यासले विखण्डन, विग्रह र कलह निम्त्याउँछ । अहिले त्यही भएको छ । गणितका नाममा प्रदेशवासीको मूल भावनालाई बन्दी बनाउन खोजिएको छ ।
त्यसको प्रतिक्रियाका बाछिटाहरू पहाडी जिल्ला र प्रदेश सदरमुकाममा देखिइरहेका छन् । यो अनपेक्षित थिएन ।खासमा मुख्यमन्त्री कार्कीले प्रदेश सभाको नामकरण हतार–हतार गरेर एउटा उत्ताउलो र अपरिपक्व काम गरेका थिए भन्ने यस लेखकको ठम्याइ छ । उनले सम्पूर्ण प्रदेश भनेको मोरङ, सुनसरी र झापाका केही भागलाई मात्र सम्झिए । उनले आफ्नो दायरालाई सङ्कीर्ण बनाए । उनलाई आफ्ना पालामा प्रदेशको नामकरण गरियो भने त अपूर्व ऐतिहासिक काम नै हुन्छ भन्ने मनोविज्ञानले ग्रस्त बनायो । त्यसैले राष्ट्रिय राजनीति अत्यन्त अस्थिर भएका वेला कार्कीले नामकरणको पासा फ्याँके । नेपाली काङ्ग्रेसका संसदीय दलका नेता उद्धव थापाले यसमा म्याच फिक्सिङ गरे । राप्रपा र एमालेको राष्ट्रवादको शिक्षादीक्षाको पाठशाला एउटै हो । त्यसैले राप्रपाले कार्कीको प्रस्तावमा आँखा चिम्लेर समर्थन गर्ने कुरामा शङ्का थिएन । अनि माओवादी र यसका संसदीय दलका नेता इन्द्र आङ्बो सत्ताराजनीतिको मोहपाशमा परेर मुख्यमन्त्रीको माखेसाङ्लोभित्र उनिए । यसरी प्रदेश नामकरणका सन्दर्भमा समग्र प्रदेशको जनभावना एकातिर हुँदाहुँदै संसदीय गणित अर्कातिर गयो र एउटा पश्चगामी–प्रतिगामी निर्णय हुनपुग्यो । यसले समग्र प्रदेशलाई तरङ्गित बनाउनु अस्वाभाविक होइन ।
माथि एक प्रसङ्गमा उल्लेख भइसकेको छ– एमाले र राप्रपाको राष्ट्रवादको शिक्षादीक्षाको पाठशाला एउटै हो । त्यो पाठशाला कुन् हो त ? यस लेखकका मान्यतामा त्यो पाठशालाका गुरुहरू तत्कालीन राजदरबार, दरबारियाहरू अनि पञ्चायती व्यवस्थाका रणनीतिकारहरू हुन् । खासमा दरबारले कुनै समय काङ्ग्रेसलाई सिध्याउन भनेर प्रयोग गरेको आलोकाँचो समूहको विकसित रूप नै अहिलेको एमाले हो ।
तत्कालीन राजा वीरेन्द्रले आफ्नो राज्यारोहण २०३१ सालमा भएपछि तत्काल नेपाललाई शान्तिक्षेत्र बनाइनुपर्छ र यसलाई संसारकै राष्ट्रले समर्थन गर्नुपर्छ भन्ने प्रस्ताव गरे । वीरेन्द्रले यो प्रस्ताव त्यस वेला नेपाली काङ्ग्रेसले देशभित्र र बाहिर गरिरहेको पञ्चायतविरोधी आन्दोलनलाई दबाउने कुटिल योजनाका साथ ल्याएका थिए । काङ्ग्रेसमा त्यस वेला तीन धार थियो । बीपी कोइराला बनारसमा बसेर सशस्त्र विद्रोहको नेतृत्व गर्दै थिए । सुवर्ण शमशेर कलकत्तामा रहेर राजासित मिलेर जाने र परिवर्तन ल्याउने नीतिमा थिए । कृष्णप्रसाद भट्टराई देशभित्रै सत्याग्रह गनुपर्छ भनेर स्वदेशभित्रै सङ्घर्षरत थिए ।
काङ्ग्रेस तीन धारमा हुँदा पनि काङ्ग्रेसको नाम दरबार र पञ्चायतका लागि काउसो थियो । त्यसैले यहाँ कुनै आन्दोलन अनुचित र असामयिक छ भन्ने उद्देश्यका साथ वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव ल्याएका थिए । तर अचम्म भयो, यो प्रस्तावलाई सबैभन्दा पहिला त्यस वेलाका कम्युनिस्टहरूले समर्थन गरे । त्यति वेला पनि नेपालका कम्युनिस्टहरू दर्जनौँ धारमा विभक्त थिए । तर वीरेन्द्रले राज्यारोहण गरेको ४ वर्ष नपुग्दै चिरन शमशेर थापा र दामोदर शमशेरजस्ता दरबारियाका अदृश्य संयोजन र समन्वयमा नेकपा मालेको गठन गरियो । यही माले पार्टी अहिलेको एमालेको पूर्व रूप हो । स्मरणीय छ, स्थापनाकालदेखि नै माले पार्टीले पहिलो महाधिवेशनको राजनीतिक प्रस्तावमै मुख्य वर्गशत्रु नेपाली काङ्ग्रेस हो भन्ने लिखित निर्णय र घोषणा गरेको थियो । सँगसँगै तत्कालीन मालेले श्री ५ वीरेन्द्रको शान्तिक्षेत्रको प्रस्तावमा समर्थन गर्ने राजनीतिक प्रस्ताव पनि त्यस महाधिवेशनबाट पारित गरेको थियो ।
त्यस वेलाको पञ्चायती सरकार र दरबारियाले काङ्ग्रेसजनलाई अराष्ट्रिय तत्त्व भन्ने गर्थे भने माले समर्थक वामपन्थीहरू भारतीय दलाल भन्ने आरोप लगाउँथे । दुबै गालीको तत्त्वार्थ र अभिप्राय एउटै थियो । यहाँ उल्लेख गर्दा आलेख लामो हुने डरले यति मात्र भन्नसकिन्छ– माले पार्टीका र पञ्च कार्यकर्ताको राष्ट्रियता र राष्ट्रवादको पाठ्यक्रम एउटै थियो । यसको प्रमाण, तत्कालीन माले पार्टीले जनमत सङ्ग्रह धोका हो, यसको वहिष्कार गरौँ भन्दै निर्दलीय पञ्चायतको पहेँलो रङको चिह्नमा मतदान गर्न अभियान चलायो ।
यही परम्परा र संस्करणलाई जीवन्त राख्तै अहिले पनि केपी ओली र कमल थापाको अनि केपी ओली र राजेन्द्र लिङदेनको केमेस्ट्री मिल्छ । केपी ओलीका भाषणका कुनै अंशमा पनि वैज्ञानिक समाजवादी र द्वन्द्वात्मक भौतिकवादको गन्ध पाइँदैन । उनका वक्तव्यमा जनताका समस्याका सवाल होइन कुनै पञ्चनेताले गरेको भाषणजस्तो गायत्री मन्त्र, पशुपतिनाथ, सबै हिन्दुशास्त्र नेपालमै लेखिएको, नेपालको माडीमा अयोध्या, कौशिक र विश्वामित्र ऋषिजस्ता कान टट्टाउने पौराणिक बयान सुन्न पाइन्छ । त्यसैले गिरिजाप्रसादले एक पटक भनेका थिए– माले, मण्डले र मसाले भनेका एउटै हुन् । हो, यही दरबारिया र पञ्चायती राष्ट्रवादको कुटिल परम्परा र संस्करणका रूपमा यो प्रदेशको नामकरण कोशी भनेर गरिएको हो । यो सर्वथा निन्दनीय र विरोधयोग्य छ ।