विक्रम लुईंटेल
१४ वर्षपछि चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । आमरुपमा उत्साह नभएपनि राजनीतिक दलका नेताहरुको निगरानी र चासोका कारण विद्यार्थीहरु चुनावमा उम्मेदवारका रुपमा खडा भएका छन् । खडा भएका उम्मेदवारहरुमा पनि राजनीतिप्रतिको ठूलो चासो देखिंदैन । गाउँमा या सहरमा बुबाआमा कुन पार्टीमा हुनुहुन्थ्यो, त्यो हेरेर विद्यार्थीलाई कन्भिन्स गर्ने र उम्मेदवार बनाउने साथै निर्वाचनमा मतदाताका रुपमा सहभागी हुन जबरजस्त प्रयत्न भइरहेको छ ।
दलहरु प्रतिबन्ध भएको अवस्था र थोरै कलेजहरु हुँदा स्ववियुको महत्व निकै ठूलो थियो । खोटाङबाट पढ्नका लागि विराटनगर झरेको एउटा किशोर विद्यार्थीका लागि डेरादेखि शुल्क अनि आत्मिय वातावरण सिर्जना गर्न पनि उबेला स्ववियुको महत्व थियो । पहाडबाट मधेशतिर झरेर पढ्ने ठूलो पंक्ति थियो । कोशी प्रदेशमा पनि धनकुटा, धरान, विराटनगर, मेची केन्द्रविन्दु थियो । पोखराको पृथ्वीनारायण क्याम्पसदेखि काठमाडांैका अनेकन क्याम्पसहरुमा विद्यार्थीहरुको चहलपहल हुन्थ्यो । राजनीतिप्रतिको सचेतना जगाउँदै प्रजातान्त्रिक आन्दोलनको उभार ल्याउन पनि क्याम्पसहरुको राजनीति महत्वपूर्ण हुन्थ्यो । विद्यार्थीहरुमा राजनीति चेत अथाह थियो । थोरै शुल्क बढ्दा पनि आन्दोलन हुन्थ्यो । सामाजिक न्यायका आन्दोलनदेखि महंगी भ्रष्टाचारका आन्दोलनको एउटा महत्वपूर्ण पाटो थियो, विद्यार्थी आन्दोलन ।
उबेला विद्यार्थीहरुका नेतामा एजेन्डामात्रै थिए । उनीहरुसँग चर्को फिको एजेन्डादेखि सबैखाले एजेन्डामा आन्दोलन गर्ने उर्जा थियो । तर, अहिले विद्यार्थीको अचाक्ली शुल्क बढेको छ । विद्यार्थी संघसंगठन त्यसमा बोल्न सक्दैनन् । निजी शैक्षिक संस्थाले गरिबका छोराछोरी पढ्नै नसक्ने गरी शुल्क लिने गरेका छन् । सामुदायिक शैक्षिक संस्थाको अवस्था दयनीय छ । अहिले स्ववियु निर्वाचन घोषणा हुँदा पनि यस्ता एजेन्डालाई विद्यार्थीहरुले बोक्न सकेका छैनन् ।
१४ वर्ष सुतेका विद्यार्थीहरुलाई बिउँझ्याउँने प्रत्यन्न त गरिएको छ, चुनावमार्फत । तर, उनीहरु अझै निन्द्रामा भएको अनुभूति गर्न सकिन्छ । विद्यार्थी आन्दोलनमा लागेका र यसबीचमा जबरजस्त पदमा बसेका विद्यार्थी नेताहरुले विद्यार्थीका हितमा केही बोलेनन् । अब फेरि उनीहरु चुनावमा आउँदैछन् । सामाजिक सञ्जाल र मिडिया हेर्दा चुनावाको अभ्यास गरेजस्तो मात्रै अनुभूति हुँदैछ । उनीहरुका अघिपछि विद्यार्थीका ताँती छैनन् । विद्यार्थीहरुलाई चासो र सरोकार पनि छैन । किनकि हप्तांै दिन कलेज नआउने प्राध्यापकको विषयमा उनीहरुले कुरै उठाउँदैनन् । कलेजलाई विद्यार्थीमैत्री वातावरण बनाउनेमा विद्यार्थी आन्दोलनका हालका अगुवाहरुले कामै गर्न सकेनन् ।
लगभग १० वर्षदेखि विराटनगरमा निरन्तर शुल्क बढिरहेको छ । तर, कहिले त्यसको बारेमा विज्ञप्तिसमेत निकाल्ने हिम्मत उनीहरुको आएन । शैक्षिक सत्र सुरु हुन लाग्दैछ, अब एक महिनापछि ढाड सेक्नेगरी शुल्क बढ्छ । विद्यार्थी संगठन मौन बस्छन् । सामुदायिक संस्थामा हुने पढाइ राम्रो हुँदैन, चुप बस्छन् । अनि चुनावको मुखमा विद्यार्थीको एजेन्डालाई आमरुपमा पुर्याउन सक्दैन । अनि कसरी यो स्ववियु चुनावमा भोट दिने ?
दिशाहीन भएको विद्यार्थी आन्दोलनलाई पुनर्जीवीत गर्ने अवसर भने यो पक्कै हो । यसैको जगमा उभिएर अब विद्यार्थीहरुले आन्दोलन थाल्नपर्छ । र विद्यार्थीका मुद्दाहरु मुखरित गर्नुपर्छ । अनि मात्र स्ववियु चुनावहरु चुनावजस्तो हुन्छन् । त्यसैले अहिलेका विद्यार्थी आन्दोलनमा लागेका नयाँ पिढींले दलका नेतालाई हेरेर होइन, विद्यार्थीलाई हेरर काम गर्नुपर्छ । तर, यहाँ विद्यार्थीले सानो आन्दोलन मात्र गर्यो भने पार्टीका नेताहरु हस्तक्षेपकारी भूमिकामा आइपुग्छन् । यी सबै परिस्थितिहरुको अन्त्य गर्दै गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि विद्यार्थी आन्दोलनको फेरि पनि आवश्यक छ र अहिलेको स्ववियु चुनावले त्यसको नेतृत्व गर्ने नेताहरु जन्माओस् । शुभकामना !