पुण्य पी अधिकारी
०७९ फागुन १८ गतेयता कोशी प्रदेशको नामाकरणको विषयलाई प्रदेश अशान्त छ । पहिचानसहित नामाकरण हुनुपर्नेमा सो नभएर कोशी नामाकरण भएकोमा पहिचानवादीहरू आन्दोलित छन् । इतिहासका पाना पल्टाउने हो भने अरूण पूर्वका नौ जिल्लामा किराँतहरूको बाहुल्यता देखिन्छ । भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरबाहेकका जिल्लालाई लिम्बूवान क्षेत्रमा रूपमा इतिहासका पानामा अभिलेखित गरेको पाइन्छ । यसर्थ कोशी प्रदेशको सट्टा जातीय पहिचानसहित प्रदेशको नामाकरण हुनुपर्नेमा सहमति छ ।
तर, जनताको अमूल्य मतदानबाट निर्वाचित जनताका दुई तिहाइ प्रतिनिधिहरूले प्रदेशसभामा फागुन १७ गते यस प्रदेशको नाम कोशी हुने निर्णय गरेपछि अब विरोध गर्नु बेकार छ । ‘द्घन्द्घ पनि मेटिने, पहिचान पनि भेटिने’ आँफैमा गम्भीर विषय हो । तर, पहिचानवादीहरूले व्यालेट बक्सबाट स्थापित गर्नुपर्ने पहिचानलाई निर्वाचनका बेला भुलेर प्रदेश राजपत्रमा कोशी प्रदेश नामाकरण भएपछि विरोध गर्नुमा आम जनताको विमति छ ।
लोकतन्त्रको आत्मा निर्वाचन हो । निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरूले गरेको निर्णय स्वीकार गर्दैनौ भन्दै आम सर्वसाधारणलाई दुख दिने हिसाबले पछिल्ला दिनमा कोशी प्रदेशमा गरिएको बन्दलगायतका गतिविधिमा अधिकांश प्रदेशवासीको विमति छ ।पहिचान पक्षधरहरूले व्यालेट बक्सबाट पहिचान स्थापित नगराएर प्रदेश राजपत्रमा सूचना प्रकाशन पश्चात जोडजाम गरेर एकथरि जनतालाई सकडमा उतारेर बन्दको शैली अपनाएकोमा प्रदेशवासीको विमति छ ।
किनभने लोकतन्त्रमा ‘बन्द’ समाधानको विकल्प नभएको पुष्टि भइसकेको छ । कोशी प्रदेश नामाकरण अघि बन्दको विरोध गर्ने पहिचानवादीहरू आज आँफै बन्दमा संलग्न हुनुले उनीहरूको राजनीतिक आवरण मात्र प्रतिबिविम्त गरेको छ । फागुन २८ गते कोशी प्रदेश नामाकरणको विरोधमा प्रदेश बन्द गरियो । लाखौँ सर्वसाधारणले दुख पाएँ । दुख पाउने ति प्रदेशवासी हुन, जसलाई कोशी प्रदेश, मेचीकोशी प्रदेश, सगरमाथा प्रदेश वा लिम्बूवान–किराँत प्रदेश नामाकरण भएमा कुनै आपत्ति छैन । किनभने उनीहरूले आफ्नो माग ब्यालेट बक्समार्फत दिएका कारण उनीहरूलाई प्रदेशको नामाकरणका विषयमा सहमति वा विमति केही पनि छैन् ।
लाखौँ विद्यार्थीले पढ्न पाउने आधारभूत अधिकार, बिरामीले उपचार पाउनु पर्ने आधारभूत अधिकार, नागरिकले स्वतन्त्रपूर्वक व्यापार वा व्यवसायमा संलग्न हुन पाउने अधिकार संविधानमा निर्दिष्ट छ । विभिन्न स्वार्थ समूहले प्रदेशवासीलाई असहज हुने गरी पहिचानका नाममा सर्वसाधारणलाई दुःख दिने शैलीमा आम कोशीवासीको विमति छ ।